मेचीनगर, बैशाख २३ । मेचीनगर नगरपालिकाको उपप्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएका डिल्लीराम घिमिरेले आफु पहिलो रोजाईमा परेको दाबी गर्नु भयो । ‘मेचीनगरबासीको नजरमा उपप्रमुखका उम्मेद्वारमध्ये म नै पहिलो रोजाईमा परेको छु,’ घिमिरेले भन्नुभयो, ‘उपप्रमुखका लागि राजनितिक दलबाट उम्मेद्वार भएकाहरु भन्दा बढी बिगतदेखि नगरबासीको समस्या समाधान लागि निरन्तर लागिरहेको छु ।’
२०४१ सालदेखि बामपन्थी राजनितिमा सक्रिय रहनु भएका घिमिरे राजनितिक दल भित्रको निरकुंशता चिर्न आफु दल भन्दा बाहिर रहेर स्वतन्त्र उम्मेद्वार बनेको बताउनु हुन्छ । ‘मेचीनगर भ्रष्टचारले चुर्लुम्म डुबेको छ,’ घिमिरेले भन्नुभयो, ‘नगरलाई भ्रष्टचार मुक्त बनाई शुसासन कायम गर्नु मेरो पहिलो प्राथमिकतामा हो ।’
मेचीनगरका आम किसानका लागि मल, उन्नत जातका बीउ, उत्पादन बृद्धिका लागि गुणस्तरिय कृषि सामग्री र सिंचाईको व्यवस्था पहिलो दिनदेखि नै गर्ने गरी योजना अगाडी बढाउने पनि घिमिरेले बताउनु भयो ।
वडा कार्यालयलाई थप प्रभावकारी बनाउनु पर्नेमा घिमिरेको जोड छ । ‘जनताको नजिकको सरकार भनेकै वडा कार्यालय हो,’ घिमिरेले भन्नुभयो, ‘अब सबै काम वडा कार्यालयबाट गर्ने गरी व्यवस्था मिलाउनु पर्छ । आर्थिक अधिकार समेत वडालाई नै दिने योजना बनाएको छु ।’
आफु बोलाएको ठाउँमा मात्रै पुगिरहेको बताउँदै उपप्रमुखका उम्मेद्वार घिमिरेले भन्नुभयो, ‘बोलाएको ठाउँमा मात्रै पनि पुग्न सकेको छैन ।’ राजनितिक दलकै कार्यकर्ताले समेत आफुलाई भोट दिने घिमिरेको दाबी छ । घिमिरेलाई उपप्रमुखका लागि निर्वाचन अधिकृतको कार्यालयले खानेपानीको धारा चुनाव चिन्ह दिएको छ ।
तत्कालिन काकरभिट्टा गाउँ विकास समितिका अध्यक्ष रहनु भएका र नेकपा एमालेसंग आबद्ध भएर लामो समय राजनितिमा सक्रिय हुनु भएका घिमिरे यस अघि झापा क्षेत्र नं. १ नेकपा एमाले क्षेत्रीय समन्वय समितिका संयोजक हुनुहुन्थ्यो ।