मेचीनगर, बैशाख २२ । स्थानीय तहको निर्वाचन नजिकिदिएसंगै उम्मेद्वारहरु मतदाता आफ्नो पक्षमा पार्न दौडधुपमा लागिरहेका छन । झापाको मेचीनगरका उम्मेद्वारहरु पनि मतदाता फकाउन घरदैलो कार्यक्रम तथा विभिन्न कोण सभामा व्यस्त नै देखिन्छन ।
उम्मेद्वारहरुले आफ्ना कार्यक्रम सहित स्थानीयस्तरमा गरिने कामका लागि स्थानीय घोषणा पत्र समेत सार्वजनिक गरेका छन । राजनितिक दलहरुले केन्द्रिय घोषणा पत्र जारी गरे पनि ति दल र उम्मेद्वारले स्थानीय घोषणा पत्र जारी गरेका छन भने स्वतन्त्र उम्मेद्वारहरुले समेत पनि आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन ।
राजनितिक दलका हुन वा स्वतन्त्र उम्मेद्वार हुन मेचीनगरका अधिकांश उम्मेद्वारको प्राथमिकतामा नगरबासीको स्वस्थ्य परेको छ । राजनितिक दलका घोषणा पत्र हुन वा प्रतिबद्धता पत्र हुन सबैमा स्वास्थ्यलाई प्राथमिकतामा राखेर सार्वजनिक भएका छन । पछिल्लो चुनावमा दलहरुको प्राथमिकतामा नै नपरेको स्वास्थ्य क्षेत्र अहिले भने प्राथमिकताको सूचीमा पहिलो नम्बरमा परेको देखिन्छ ।
नेकपा एमाले मेचीनगरले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा मृगौला प्रत्यारोपणसहित मुटु, मस्तिष्कघात र क्यान्सर जस्ता जटिल रोगको उपचारका लागि १० करोडको स्वास्थ्य उपचार अक्षय कोष स्थापना गर्ने उल्लेख गरेको छ ।
त्यस्तै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको गठबन्धन दलले आफ्ना साझा उम्मेद्वारहरुका लागि सार्वजनिक गरेको मेचीनगरको प्रतिबद्धता पत्रमा नगरबासीका लागि आधारभुत स्वास्थ्य सेवा निशुल्क गरिनेदेखि मुटु, मृगौला र क्यान्सर जस्ता नसर्ने जटिल प्रकृतिका रोगहरुको उपचारका लागि विषेश व्यवस्था गरिने उल्लेख गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले तयार गरेको स्थानीय घोषणा पत्रमा समेत स्वास्थ्यलाई प्राथकितामा राखेको छ । नगरबासीको जीवन बचाउनु नै पहिलो प्राथमिकता उल्लेख गरेको राप्रपा मेचीनगरले नगर अस्पताललाई सुविधासम्पन्न बनाउने घोषणा गरेको छ ।
त्यस्तै नेकपा एकीकृति समाजवादी पार्टीले तयार गरेको घोषणा पत्रमा पनि स्वास्थ्य नै प्राथमिकतामा राखिएको छ । जनताको अधिकारः निशुल्क स्वास्थ्योपचार भन्ने नाराका साथ नेकपा एसले आम जनतालाई स्वास्थ्य उपचार निशुल्क गर्ने प्रतिबद्धता गरेको छ ।
पछिल्लो दुई बर्षमा विश्व व्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्य क्षेत्रमा आएको चुनौतिलाई राजनितिक दल र तिनका उम्मेद्वारहरुले आत्मसाथ गर्दै पहिलो प्राथमिकतामा नागरिकको स्वास्थ्य नै रहेको बुझाइ देखिन्छ ।
घोषणा पत्रमा प्राथमिकतामा राखेर प्रचार गरिएको स्वास्थ्य क्षेत्रलाई निर्वाचन पछि विजयी हुनेहरुले कत्तिको प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्रका योजना र बजेट परिचालन गर्छन त्यो भने हेर्न बाँकी नै छ ।