धुलाबारी, बैशाख १७ । बैशाख ३० गतेको निर्वाचनका लागि मेचीनगरमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुको तर्फबाट साझा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । धुलाबारी चोकमा शनिबार आयोजित उम्मेद्वार सार्वजनिक सभाबाट गठबन्धनको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।
मेचीनगरमा गठबन्धनको तर्फबाट प्रमुख पदमा नेपाली काँग्रेसका इन्द्रबहादुर बुढाथोकी र उपप्रमुखमा माओवादी केन्द्रका प्रकाश भण्डारी नेतृत्वको साझा उम्मेद्वार चुनावी मैदानमा छन् । गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेद्वार संयुक्त चुनावी मैदानमा छन् ।
जारी गरिएको घोषणा पत्रमा निर्वाचनमा विजयी भएमा नगरको समग्र समृद्धिको निमित्त लागि पर्ने संकल्प गरिएको छ । घोषण पत्रमा नगरको समृद्धिमा गर्ने र नगर्ने कामलाई बुँदागत रुपमा उल्लेख गरिएको छ ।
जनताको करबाट उठेको राजस्वको रकमलाई भ्यु टावर, स्वागत द्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत र साधनको दोहन नगर्ने, कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभनमा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने, नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने, निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गएर अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम नगर्ने, कानुन, आर्थिक तथा वित्तीय उत्तरदायित्व र अनुशासनको उल्लंघन नगर्ने, महिलामाथि हुने हिंसा, जातीय विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रूपमा समेत कुनै पनि अवस्थामा संलग्न नहुने प्रतिबद्धता व्यक्त गरिएको गरिएको छ ।
१८ पृष्ठको साझा प्रतिबद्धता पत्रमा सुशासनदेखि कर प्रमाणीसम्मलाई समेटेर काम गर्ने अठोट गरिएको छ । मेचीनगरलाई समृद्ध नगर बनाउन सुशासनतर्फ नगरपालिकालाई सुशासन प्रदान गर्न भ्रष्टाचार र अनियमिततालाई शून्य सहनशीलताको नीति अवलम्वन गरिने उल्लेख छ । यस्तै, नगर प्रशासनलाई चुस्त, दुरुस्त, पारदर्शी र जवाफदेही बनाउँदै जनताको कामलाई सहज ढंगले सम्पादन गर्न सेवाको प्रकृति हेरी समयावधी तोकी सेवा प्रवाह गरिनेछ लगायका बूंदा समेटिएका छन् ।
प्रतिबद्धता पत्रको पूर्णपाठ ।