झापा, बैशाख १० । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका छ । देशका सबै पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । सम्बन्धीत पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा नै उम्मेद्वारी दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी दर्ता गराउँदा विभिन्न कागजात निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नु पर्ने हुन्छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष वा नगरपालिकाको प्रमुख, उपप्रमुख पदमा उम्मेद्वार दिन चाहने व्यक्तिले नागरिकता, त्यही स्थानीय तहको मतदाता भएको निस्सा, स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थकसहित मनोनयन पत्र पेस गर्नुपर्ने हुन्छ । निस्सा भनेको निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको प्रमाणित प्रतिलिपि हो ।
यदि उम्मेद्वारले मतदाता परिचयपत्र बुझाए पनि हुन्छ । उनीहरूले १५०० धरौटी रकम जम्मा गरेको रसिद पनि पेस गर्नुपर्ने हुन्छ । महिला, दलित र अल्पसंख्यकले भने धरौटीबापत ७५० रुपैयाँ मात्रै बुझाए पनि हुन्छ ।
धरौटी छुट पाउनका लागि आर्थिक रूपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय ५० हजार रुपैयाँभन्दा कम भएको स्थानीय तहले गरेको सिफारिस पेस गर्नुपर्ने हुन्छ । दलको उम्मेद्वार भएर मनोनयन दर्ता गर्ने हो भने दलले प्रदान गरेको औपचारिक पत्र नै पेस गर्नुपर्ने हुन्छ । दलका तर्फबाट उम्मेद्वारीको औपचारिक पत्र दिन अधिकार पाएको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्छ ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न नै दलहरूले निर्वाचन आयोगमा हस्ताक्षरको नमुना बुझाएको हुन्छ । त्यही हस्ताक्षर भएको पत्र मनोनयनमा पेस गर्नुपर्ने हुन्छ । उम्मेदवारी दिँदा संघ, प्रदेश र स्थानीय तहमा वा यसको स्वामित्वमा रहेको संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि पेस गर्नुपर्ने हुन्छ । स्थानीय तहमा अहिले बहाल छ भने पनि राजीनामा दिएको हुनुपर्ने अदालतले आदेश दिइसकेको छ । उम्मेद्वारले आफैं कतै पनि संलग्न नभएको स्वघोषणा नै गर्नुपर्ने हुन्छ ।
वारेसमार्फत मनोनयन पत्र दर्ता गराउन पनि मिल्छ तर वारेसनामा पेस गर्नुपर्छ । गाउँपालिका र नगरपालिकाको वडाअध्यक्ष, वडा सदस्य पदको लागि पनि मनोनयन दर्ता गर्दा यही प्रक्रिया हो । धरौटी भने कम छ । वडाअध्यक्षको उम्मेद्वारले १००० र वडा सदस्यले ५०० बुझाउनु पर्छ । महिला, दलित र विपन्नले २५० मात्रै तिरे हुन्छ ।