काठमाण्डौ, बैशाख ९ । स्थानीय तह निर्वाचनलाइ लक्षित गर्दै नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा एमालेले आफ्ना जनप्रतिनिधिले सदाचारको दृष्टान्त स्थापित गर्ने बताएको छ । एमालेले जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुने, जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुने, आफ्नो नेतृत्वमा रहेका पालिकाहरु सुशासनका नमुना बन्ने, आफ्ना जनप्रतिनिधिहरूले कुनै भ्रष्टाचार नगर्ने र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्प गरेको छ ।
यस्तै एमालेले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पु¥याउन जनप्रतिनिधिहरूले अग्रणी भूमिका खेल्ने पनि बताएको छ । यस्तै एमालेले निरोगी नेपाल, स्वस्थ नेपाली, स्वच्छ खानेपानी सफा बस्ती र राम्रो आनीबानी, आधुनिक उर्जा उज्यालो पालिका, उन्नत कृषि किसानको समृद्धी ,सहज आवागमनको आधार दिगो यातायात पुर्वाधार, एकीकृत वस्ती, योजनाबद्ध सहरी विकास बिकसित पालिका, सुरक्षित आवास लगाएत नारा लिएको छ ।
एमालेले मौलिक कला र सस्कृती, पर्यटनबाट समृद्धी, जलवायु अनुकूलन र विपद व्यवस्थापन विकास र वातावरणबीच सन्तुलन , सम्मुन्नत लोकतन्त्रको आधार, मेलमिलाप, न्याय र मानब अधिकार लगाएत नारा पनि अघि सारेको छ । यस्तै, प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र स्थापना र सञ्चालन गर्ने , प्रत्येक पालिकामा पनि कम्तीमा एउटा औद्योगिक ग्राम स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ । खानी तथा खनिजजन्य पदार्थको उत्खनन, संरक्षण र परिचालन गर्ने भनिएको छ । गाउँगाउँमा उत्पादन भएका वस्तुलाई बजारीकरण गर्ने र पालिकाका मुख्य आर्थिक केन्द्र र बजारलाई केन्द्रित गर्ने कुरा समेटिएको छ । पर्यटन र पूर्वाधार विकास, स्थानीय उत्पादनको बजारीकरण, दक्ष जनशतिको उत्पादन, प्राविधिक शिक्षालगायतका विषयलाई घोषणाले समेटेको छ ।