झापा, बैशाख ७ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
आज बसेको काँग्रेस नेतृत्व सहितको नगर समितिको बैठकले नगर प्रमुख पदका उम्मेद्वारका लागि इन्द्र बहादुर बुढाथोकी, केशवराज पाण्डे, मणिकुमार उप्रेती र झुनादेवी बानियाँको नाम सिफारिस गरेको काँग्रेस मेचीनगर सभापति सुवेशकुमार पनेरुले जानकारी दिनु भयो । नगरप्रमुखको उम्मेद्वारका लागि सिफारिस हुनु भएका बुढाथोकी झापा क्षेत्र नं. १ का सभापति हुनुुहुन्छ । त्यस्तै पाण्डे जिल्ला उपसभापति हुनुहुन्छ भने उप्रेती महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । त्यसैगरी बाँनियाँ काँग्रेसका पुराना महिला नेता हुनुहुन्छ ।
त्यस्तै उपप्रमुखको उम्मेद्वारका लागि बिना तामाङ, राधा कार्की र शोभा श्रेष्ठको नाम जिल्ला कार्य समिति झापालाई सिफारिस गर्ने निर्णय भएको नगर सभापति पनेरुले बताउनु भयो । उपप्रमुखको उम्मेद्वारका रुपमा सिफारिस हुनु भएका क्षेष्ठ काँग्रेस प्रदेश १ को कार्यसमिति सदस्य हुनुहुन्छ । त्यस्तै तामाङ र कार्की मेचीनगरका स्थापित काँग्रेस नेताहरु हुनुहुन्छ ।
नगरप्रमुख र उपप्रमुखका उम्मेद्वारका आँकाक्षीहरु र पार्टी नेतृत्वबिच निरन्तरको छलफल पछि सर्वसम्मत रुपमा उम्मेद्वारका नाम सिफरिस गरिएको काँग्रेस मेचीनगर सचिव मनोज घिमिरेले जानकारी दिनु भयो ।
सत्ता गठबन्धन दलहरु बिचको संवाद जारी रहेकाले दलहरुबिचको तालमेलको निर्णय भए पछि नगरप्रमुख र उपप्रमुख सहित वडा अध्यक्ष तथा सदस्यहरुका उम्मेद्वारहरुको नाम निर्णय हुने काँग्रेस मेचीनगरले जनाएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा मेचीनगरमा काँग्रेसकै विमल आचार्य नगरप्रमुखमा विजयी हुनु भएको थियो भने उपप्रमुखमा काँग्रेसका उम्मेद्वार दुर्गा खतिवडालाई पराजित गरी एमालेकी मिना उप्रेती विजयी हुनु भएको थियो ।
काँग्रेसको विधान अनुसार वडा अध्यक्षसम्मको उम्मेद्वारको निर्णय क्षेत्रीय समितिले गर्नेछ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार क्षेत्रीय समितिको सिफारिसका आधारमा जिल्ला समितिले गर्नेछ । त्यस्तै नगरप्रमुख र उपप्रमुखको उम्मेद्वारको निर्णय जिल्ला समितिको सिफारिसका आधारमा प्रदेश समितिले गर्नेछ भने महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखका उम्मेद्वारको निर्णय केन्द्रिय समितिले गर्नेछ ।
गाउँपालिका तथा नगरपालिकाहरुको उम्मेद्वार चयनमा सहमति बन्न नसके सम्पूर्ण निर्णय केन्द्रिय समितिबाट नै हुने काँग्रेसले जनाएको छ ।