झापा, बैशाख ५ । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा १२२ जना नयाँ क्षयरोगी भेटिएका छन । नेपाल सरकारले सञ्चालन गरेको क्षयरोग रोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत गरिएको परीक्षणका क्रममा चालु आर्थिक बर्ष २०७८÷०७९ को चैत मसान्त भित्र १२२ जना नयाँ क्षयरोगी फेला परेको मेचीनगर स्वास्थ्य शाखाका प्रमुख सबिता निरौलाले बताउनु भयो । नयाँ क्षयरोगी मध्ये ५ जना १४ बर्ष मुनिका वालवालिका रहेको र सबैलाई नियमित औषधी सेवन गराउने काम भइरहेको समेत स्वास्थ्य शाखा प्रमुख निरौलाले जानकारी दिनु भयो । वालवालिकाहरुमा क्षयरोग देखिनुलाई रोगको जोखिम बढ्दोक्रममा रहेको अवस्था बुझाउने निरौलाले बताउनु भयो ।
स्वास्थ्य मन्त्रालयको क्षयरोग मुक्त पालिका घोषणा अभियानमा झापाबाट छनौटमा परेको एक मात्रै पालिकाका रुपमा रहेको मेचीनगरमा गत बर्ष १८८ जना क्षयरोगीहरु भेटिएका थिए । गत बर्ष भेटिएका मध्ये १६२ जना निको भइसकेको र मेचीनगर १ र ६ का दुई जना पुरुषको मृत्यु भएको छ भने १० जना नगरभन्दा बाहिर गएका निरौलाले बताउनु भयो । गतबर्ष भेटिएका क्षयरोगी मध्ये ८ जनाले अहिले पनि नियमित औषधी सेवन गरिरहेका छन भने ६ जना रोगी उपचारको सम्पर्क भन्दा बाहिर रहेको निरौलाले जानकारी दिनु भयो । ‘जो उपचारकै क्रममा सम्पर्क बिहिन भएर बिचमै औषधी सेवन गर्न छोडेका छन तिनको खोजी कार्य भइरहेको छ,’ शाखा प्रमुख निरौलाले भन्नुभयो, ‘उपचारकै क्रममा सम्पर्कमा नआएकाहरुलाई नियमित उपचारमा फर्काउनु हाम्रो लागि चुनौती हो ।’ गत बर्ष भेटिएका १८८ जना नयाँ क्षयरोगी मध्ये १० जना १४ बर्ष भन्दा कम उमेरका वालवालिका रहेका थिए ।
नयाँ क्षयरोगीलाई निशुल्क नियमित खुवाउने तथा दुई महिना, पाँच महिना र छ महिनामा खकार परीक्षण गरी रोगको अवस्थाको बारेमा जानकारी लिने गरिएको मेचीनगरकी क्षयरोग फोकल पर्सन सदीक्षा भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार ६ महिना औषधी सेवन गरेर खकार परीक्षण गर्दा रोग देखिएन भने त्यस्ता व्यक्तिलाई क्षयरोग मुक्त भएको घोषणा गरिन्छ ।
जुन रोगीलाई ६ महिना नियमित औषधी सेवन गर्दा पनि खकार परीक्षणबाट क्षयरोग देखियो भने त्यस्ता रोगीहरुलाई थप उपचारका लागि आवश्यकता अनुसार औषधी सेवन गराउने फोकल पर्सन भट्टराईले बताउनु भयो । वहाँका अनुसार ब्यक्तिको रोगको अवस्था हेरेर ६ महिना देखि दुई बर्षसम्म क्षयरोगको औषधी नियमित सेवन गर्नु पर्नेछ ।
‘क्षयरोगका अन्त्यका लागी लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ सरकारले मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा अभियानमा समावेश गरेर कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक बर्षमा ७३ लाख बजेट पठाएको नगर स्वास्थ्य शाखा प्रमुख निरौलाले जानकारी दिनु भयो । उक्त कार्यक्रम अन्तर्गत नगरका सबै क्षेत्रमा क्षयरोगका नयाँ रोगी खोजी गर्ने र रोग देखिए नियमित उपचारको दायरामा ल्याउने काम भइरहेको निरौलाले बताउनु भयो ।