पाल्पा, बैशाख ५ । पाल्पाको रामपुर नगरपालिकाको उपमेयरमा पुरानो राजनीतिज्ञ तथा काँग्रेस महाधिवेशन प्रतिनिधि दुर्गादेवी भण्डारीसहित १० जनाले दावी गरेका छन् । शनिबार र आइतबार भएको काँग्रेस नगरसमितिको बैठकमा नगरपालिकाको आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहेकाहरूको दाबेदारी प्रस्तुत गर्ने क्रममा उहाँले पनि दावी गर्नु भएको हो ।
उपमेयरमा दावी गरेका मध्ये झण्डै ३० वर्षदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय दुर्गादेवी भण्डारीले यस पटक आफूले पाउनु पर्ने अडान राख्नु भएको छ । यसअघि पनि आफूले दावी गरेकोमा सहिद पुत्री विष्णुदेवी घिमिरेले दावी गरेपछि आफूले छोडेको तर अहिले भने आफूले पाउनु पर्ने उहाँको भनाई थियो । वर्तमान उपमेयर विष्णुदेवी आचार्यले भने अहिले उपमेयरमा दावी गर्नु भएको छैन । उहाँले मेयरमा मात्रै दावी गर्नु भएको छ । राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशीलताको हिसाबले आफू सम्भवतः सबैभन्दा पुरानो र अहिलेसम्म कुनै अवसर नपाएकाले अहिले पाउनु पर्ने उहाँको भनाई थियो । साथै तत्कालीन पाँच गाविस मिलेर बनेको रामपुर नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार मध्ये एक जना तत्कालीन रामपुर गाविसभन्दा बाहिरबाट पनि हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मेयर र उपमेयर दुवै जना तत्कालीन रामपुर गाविसबाट मात्रै हुनु न्यायोचित नहुने, अन्य क्षेत्रले अपनत्व गर्न नसक्ने, चुनावी माहौल पनि अन्यत्र कम पर्ने, तत्कालीन रामपुरमा मात्रै केन्द्रित हुने भएकाले उम्मेदवारहरू छनौट गर्दा भौगोलिक सन्तुलन मिलाउनु पर्नेमा उहाँले ध्यानाकर्षण गराउनु भयो । अहिले उपमेयरलाई दिइएको अधिकांश जिम्मेबारी आफूले लामो समयदेखि अनौपचारिक रुपमा गर्दै आएकाले काममा कुनै समस्या नहुने स्पष्ट पार्दै उहाँले अरु कामहरूको पनि धेरै योजना बनाएको जानकारी दिनुभयो ।
पार्टी र साथीहरूले यस पटक आफूलाई अन्तिम मौका दिने विश्वास गर्दै उपमेयरकी आकांक्षी भण्डारीले पार्टीको निणर्य र निर्देशनलाई आफूले पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाउनु भयो । बरिष्ठता, क्रियाशीलता, योगदान र भौगोलिक सन्तुलनका कारण आफू उपमेयरको उम्मेदवार हुन पाउनु पर्ने दुर्गादेवी भण्डारीको दावीलाई अन्य उम्मेदवारहरूले पनि स्वभाविक मानेका छन् । तर उनीहरूले पनि आफ्नो दावी भने छाडेका छैनन् । उपमेयरमा काँग्रेसको तर्फबाट दावी गर्ने अन्य आकांक्षीमा महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकाल, सावित्रा गहिरे, सरस्वती डोटेल, कमला बास्ताकोटी, सितादेवी डोटेल, पवित्र ढकाल पौडेल, भगवतीदेवी खनाल, बालकुमारी थापा र बुद्धिप्रकाश रेग्मी रहनु भएको छ ।
मेयरका लागि भने यसअघि नै चर्चा भए अनुसार वर्तमान मेयर रमण बहादुर थापा, वर्तमान उपमेयर विष्णुदेवी आचार्य, पार्टीका प्रदेश सदस्य कल्प पौडेल, जिल्ला उपसभामपति ज्ञानबहादुर गाहा, नगर सभापति नेत्र प्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि खगेश्वर पाठक र पुर्व प्रशासक तथा प्रदेश प्रतिनिधि श्यामकान्त खनालले दावी गर्नुभएको छ । आकांक्षी सबैलाई राखेर नगरस्तरबाट सहमती गरी एक एक जनाको नाम मात्रै माथिल्लो निकायमा पठाउने प्रयास भइरहेको नगर समितिले जनाएको छ ।