झापा, बैशाख ४ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसंगै दलहरु उम्मेद्वारको अन्तिम सुची तयार गर्न आन्तरिक छलफलमा जुटेका छन । झापाको मेचीनगरमा नेकपा एमालेले १५ वटै वडाको अध्यक्ष सहित सदस्यहरुका उम्मेद्वारहरुको नामावलीलाई अन्तिम रुप दिने तयारी गरिरहेको छ ।
यस अघि नै एमाले मेचीनगरले केही वडाहरुमा अध्यक्षका लागि सर्बसम्मत उम्मेद्वार घोषणा गरिसकेको छ भने केही वडा अध्यक्षका उम्मेद्वारको नाम टुङ्गो लगाउन आन्तरिक तयारी गरिरहेको एमाले मेचीनगरका एक नेताले सेतोपत्रलाई जानकारी दिनु भयो ।
एमालेस्रोतका अनुसार मेचीनगर वडा नं. १ मा वर्तमान वडा अध्यक्ष पासाङ तामाङलाई पुनः उम्मेद्वार दिने तयारीमा लागेको छ । उक्त वडामा वर्तमान वडा सदस्य रहनु भएका रामकुमार राईको नाम समेत वडा अध्यक्षका रुपमा चर्चामा छ ।
त्यस्तै वडा नं. २ मा युवा नेता दिपक बराललाई एमालेका तर्फबाट वडा अध्यक्षको उम्मेद्वार बनाउने निश्चित जस्तै भएको छ । बाहुनडागी जेसीजका निवर्तमान अध्यक्ष बराल वडाबाट पहिलो नम्बरमा उम्मेद्वारका लागि छानिनु भएको थियो । उक्त वडामा बर्तमान वडा अध्यक्ष तिलक न्यौपाने आफ्नै नाममा टिकट ल्याउन पार्टीमा लबिङ गरिरहनु भएको एमाले नेताहरु बताउँछन ।
वडा नं. ३ मा एमालेबाट वडा अध्यक्षका रुपमा वर्तमान वडा अध्यक्ष हर्कबहादुर बस्नेतको नाम सर्वसम्मत रुपमा निर्णय भइसकेको छ । उक्त वडामा बस्नेत बाहेक अरु कसैले एमालेबाट वडा अध्यक्षका रुपमा दाबी गरेका छैनन ।
त्यस्तै वडा नं. ४ मा एमालेका तर्फबाट अर्जुन कार्कीलाई वडा अध्यक्षका रुपमा प्रस्तुत गर्ने अन्तिम तयारी भइरहेको छ । कार्की २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा झिनो मतान्तरले काँग्रेस उम्मेद्वार नविन बरालसंग पराजित हुनु भएको थियो ।
वडा नं. ५ मा एमालेले कनक कार्कीलाई वडा अध्यक्षका रुपमा उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । त्यस्तै वडा नं. ६ मा बालकृष्ण थापा एमालेका वडा अध्यक्षका उम्मेद्वार हुने छन भने वडा नं. ७ को वडा वर्तमान कार्यवाहक वडा अध्यक्ष नेत्रप्रसाद दाहाललाई अघि सार्ने एमालेको तयारी छ । यद्यपी प्रल्हादमणी ओलीका नाममा सहमति हुने सभ्भावना पनि जिवित रहेको एमालेस्रोतले जनाएको छ ।
वडा नं. ८ मा वर्तमान वडा अध्यक्ष बिकेन्द्र धिमालकै नाममा निर्णय हुने अवस्था भए पनि पार्टीको आन्तरिक निर्वाचनमा चित्र धिमाल पहिलो नम्बरमा सिफारिस भएका कारण चित्र र बिकेन्द्र मध्ये एक एमालेका तर्फबाट वडा अध्यक्षको उम्मेद्वार बन्ने छन ।
त्यसैगरी वडा नं. ९ मा एमालेलाई वडा अध्यक्ष छनौट गर्न केही सकस परेको देखिन्छ । वडा नं. ९ मा चन्द्रमणी पौडेल वडा अध्यक्षको उम्मेद्वार पाउने पहिलो सुचीमा हुनु हुन्छ । उक्त वडामा एमालेका नगर सचिव कञ्चन तामाङको पनि वडा अध्यक्षमा दाबी छ भने महिला नेतृ रणुका डाँगी समेत वडा अध्यक्षको शसक्त दाबेबारका रुपमा हुनुहुन्छ । १५ मध्ये एउटा वडामा महिला उम्मेद्वार बनाउने निति एमालेले लिए वडा नं. ९ मा रेणुुका डाँगी वडा अध्यक्षको उम्मेद्वार हुने एमाले मेचीनगर समितिका एक नेताले बताउनु भयो ।
वडा नं. १० मा एमालेका तर्फबाट ह्रदय राजबंशी वडा अध्यक्षका उम्मेद्वार हुने बढी सभ्भावना छ । उक्त वडामा एमालेका तर्फबाट युवा नेता नारायण खनालको पनि शशक्त दाबी छ । वडा नं. ११ मा एमालेले रुद्र डाँगीलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने लगभग निश्चित भएको छ भने वडा नं. १२ मा मधु निरौलालाई एमालेले वडा अध्यक्षका रुपमा अघि बडाउने देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा माओवादीका नरेन्द्र धिमालसंग ६ मतले पराजित हुनु भएका निरौलालाई नै यस पाली पनि एमालेले उम्मेद्वार बनाउने रणनिति लिएको छ । यद्यपी उक्त वडामा यामनाथ बरालको समेत वडा अध्यक्षमा शसक्त दाबी रहेको छ ।
वडा नं. १३ मा एमालेका तर्फबाट वर्तमान वडा अध्यक्ष कृष्ण सिग्देल नै उम्मेद्वार बन्ने दौडमा सबैभन्दा अगाडी हुनुहुन्छ । उक्त वडामा सिग्देल, कार्यपालिका सदस्य निरु परियार सहित ११ जना एमालेका वडा अध्यक्षका आकाक्षी हुनुहुन्छ ।
वडा नं. १४ मा वर्तमान वडा अध्यक्ष शंकर पोखरेललाई नै एमालेले उम्मेद्वार बनाउने आन्तरिक तयारी गरेको छ । उक्त वडामा युवा नेता दुर्गा धमलाको पनि वडा अध्यक्षमा शसक्त दाबी रहेको छ ।
वडा नं. १५ मा एमालेका तर्फबाट वर्तमान नगर कार्यपालिका सदस्य कुस्मीकुमारी चौधरीलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने देखिन्छ । उक्त वडाका एमाले अध्यक्ष समेत रहनु भएका मुरलीधर कोइराला पनि वडा अध्यक्षको दौडमा हुनुहुन्छ ।
वडा अध्यक्ष र सदस्यहरुको अन्तिम टुङो नगर कमिटिको सिफारिसका आधारमा जिल्ला कमिटिले निर्णय गर्ने एमालेका एक जिल्ला नेताले बताउनु भयो ।