झापा, बैशाख २ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको मेचीनगरको प्रमुख पदको उम्मेद्वार छान्न नेपाली काँग्रेसलाई सकस परेको छ । सत्ता गठबन्धनको नेतृत्व गरेको काँग्रेसले सत्ता साझेदार दलहरुसंगको तालमेलमा उम्मेद्वार बनाए पनि मेचीनगरको प्रमुख पद काँग्रेसकै भागमा पर्ने निश्चित नै छ ।
काँग्रेस भित्र मेचीनगरको प्रमुखका लागि मुख्य रुपमा तीन जना आंकाक्षी देखिएका छन । चर्चामा अन्य नामहरु जोडिए पनि मुख्य रुपमा काँग्रेसका निवर्तमान क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि मणिकुमार उप्रेती, क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी र जिल्ला उपसभापति केशवराज पाण्डे नै नगर प्रमुख पदको दाबेदार हुन । यी तीन जना भन्दा बाहिरबाट काँग्रेसले नगरप्रमुख पदको उम्मेद्वार खोजी गर्ने सभ्भावना अत्यन्तै न्यून छ ।
काँग्रेसको विधान अनुसार नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार चयनका लागि जिल्ला समितिको सिफारिसमा प्रदेश समितिले निर्णय गर्छ । सामान्य अवस्थामा हेर्दा जिल्ला समिति र प्रदेश समितिमा पाण्डेको शक्ति बलियो देखिन्छ । जसका कारण पाण्डे नै मेचीनगरको प्रमुखको उम्मेद्वार हुने बलियो सभ्भावना छ । तर काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर भएका कारण पनि मेचीनगरको प्रमुख पदको उम्मेद्वार छनौटमा शर्माले हस्तक्षेप गर्ने प्रवल सभ्भावना छ । यदि त्यस्तो अवस्था आए बुढाथोकीको पल्ला भारी हुन सक्छ । बुढाथोकी महामन्त्री शर्माका झापाका पहिलो नम्बरका विश्वासिला नेता हुनुहुन्छ । तथापी महामन्त्री शर्माले पाण्डे र बुढाथोकी दुवैलाई पछि सारेर अगुवा नेता उप्रेतीलाई नगरप्रमुखको उम्मेद्वार बनाउने सभ्भावनालाई पनि नकार्न सकिहाल्ने अवस्था भने छैन ।
काँग्रेसको १४ औं महाधिवेशनमा नेता कृष्ण प्रसाद सिटौला र महामन्त्री शर्माको दुई गुटमा बिभाजित भएर प्रतिस्पर्धामा उत्रिएको झापा काँग्रेसमा केही दिन अघि मात्रै शर्मा र सिटौलाले जिल्ला पदाधिकारीहरुसंग संयुक्त छलफल गरी स्थानीय चुनावमा एक भएर अघि बढ्ने उद्घोष गरेका थिए । त्यसैले पनि झापाका पालिकाहरुमा उम्मेद्वार छनौटमा शर्मा र सिटौला दुवैको हस्तक्षेप र सल्लाहा उत्तिकै रहने निश्चित नै छ ।
सिटौला गुटबाट जिल्ला उपसभापतिमा विजयी हुनु भएका पाण्डे र शर्माको गुटबाट क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएका बुढाथोकी बिच नगरप्रमुखको उम्मेद्वारका लागि निक्कै संघर्ष हुने देखिन्छ । तर बिगतमा सिटौला गुटमा नै रहनु भएका उप्रेती १४ औं महाधिवेशनमा शर्मा गुटबाट महाधिवेशन प्रतिनिधिमा विजयी हुनु भएको थियो । सबैलाई समान व्यवहार गर्ने तथा पाण्डे र बुढाथोकी भन्दा सिनियर नेता भएका कारण पनि शर्मा र सिटौला दुवैको सहमतिमा उप्रेतीलाई मेचीनगरको प्रमुखको उम्मेद्वार बनाउने अवस्था नआउला भन्न सकिन्न ।
यता काँग्रेस झापाका उपसभापति पाण्डे महामन्त्री शर्माकै सहमतिमा नै नगरप्रमुखको उम्मेद्वार हुने भित्रि प्रयासमा लागेको देखिन्छ । पछिल्लो समय शर्मासंग सम्बन्ध सुधार गर्नु भएका पाण्डेले नगरभित्र चुनावी सक्रियता बढाएर आफ्नै नाममा निर्णय गर्न पार्टीका नेतालाई अप्रत्यक्ष दबाब दिएको देखिन्छ ।
बिगतदेखि नै महामन्त्री शर्माको बिश्वासिलो पात्रका रुपमा परिचित काँग्रेस क्षेत्रीय सभापति बुढाथोकी पार्टी संगठन भित्र बलियो नेताका रुपमा चिनिनु हुन्छ । बुढाथोकी काँग्रेसका झापा क्षेत्र नं. १ का सभापति मात्रै होईन महामन्त्री शर्मा पक्षका जिल्लाकै पहिलो नम्बरको नेता हुुनुहुन्छ । त्यसैले पनि मेचीनगर प्रमुखको उम्मेद्वारको दौडमा कसले बाजी मार्छ भन्ने कुरा महामन्त्री शर्मा र नेता सिटौलाकै सहमतिमा भर पर्ने देखिन्छ ।
काँग्रेसबाट मेचीनगरको प्रमुख पदको उम्मेद्वारका लागि महाधिवेशन प्रतिनिधिद्वय पुष्पराज पौडेल र दुर्गा खतिवडाको नाम पनि चर्चामा छ ।