काठमाण्डौ, बेशाख २ । नेपाली अर्गानिक कृषि उत्पादनको प्रदर्शनी गरिएको पाँचौं अर्गानिक कृषि मेला बिहिबारदेखि काठमाण्डौमा सुरु भएको छ । अर्गानिक एशोसिएशन अफ नेपाल र कंचनजंघा टि स्टेट एण्ड रिसर्च सेण्टरको आयोजनामा सुरु भएको पाँचौं अर्गानिक कृषि मेला २०७९ को ललितपुर स्थित पाटन संग्राहलय परिसरमा एक समारोहका बिच पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उदघाटन गर्नु भएको थियो । मेलाको उदघाटन कार्यक्रमलाई सन्बोधन गर्दै पौडेलले जति जति मानव जाती प्रकृतिबाट टाढा हुँदै गयो उति आपत र विपतमा पर्दै आएको कुरालाई कोभिडले पुष्टि गरेको बताउनु भयो । अर्गानिक कृषि खेतीलाई प्राथमिकता दिनु पनि प्रकृतिसँग नजिक हुनु रहेको पौडेलले उल्लेख गर्नुभयो । पूर्व सभामुख समेत रहनु भएका नेता पौडेलले नेपालको अधिकांश जमिन बाँझै रहेको तथा पानी त्यसै खेर गईरहेको उल्लेख गर्नुहुँदै त्यसको उपयोग गर्नुपर्ने खाँचो समेत औंल्याउनु भयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनु भएका अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष तथा पूर्व मन्त्री दिपक प्रकाश बाँस्कोटाले रसायनिक मलबाट हुने बढि उत्पादनलाई अर्गानिक खेतीबाट हुने कम उत्पादनले पनि धान्न सक्छ भन्ने बिषयमा अध्ययन अनुसन्धान गर्न नसकिएको उल्लेख गर्नु भयो । वहाँले सरकारले नीति ल्याएर नेपाललाई पूर्ण अर्गानिक मुलुक बनाउन लाग्नुपर्ने बताउनु भयो । अध्यक्ष बाँस्कोटाले प्रधानमन्त्री र राष्ट्रपतिको आव्हानमा नभई सहि नीति ल्याएर मात्रै विदेशिएका नेपालीलाई स्वदेश फर्कन वाध्य तुल्याउन सकिने बताउनु भयो । किचन होईन भान्सा घर बनाए मात्रै त्यो औषधि घर बन्ने बताउदै वहाँले अर्गानिक मेलाले सिंगो देशलाई नै जोंडने दाबी गर्नुभयो ।
मेलाकी संयोजक तथा अर्गानिक एशोसियसन अफ नेपालकी महासचिव शान्ता बाँस्कोटा कोइरालाले विगतका मेलाबाट प्राप्त उपलब्धीबाट प्रेरित हुँदै पाँचौ श्रिँखलासम्म आईपुगेको स्मरण गर्दै नेपाली उत्पादन प्रबद्र्धन गर्न मेला फलदायी हुने बताउनुभयो । अर्गानिकको विकल्प अर्गानिक नै रहेको उल्लेख गर्नुहुँदै उहाँले निजी क्षेत्रले अर्गानिक उत्पादनमा अघि बढिरहेको प्रसंग सहित नेपाल सरकारले अर्गानिक खेतीलाई प्राथमिकतामा राख्दै जानुपर्ने धारणा राख्नुभयो ।
बाँस्कोटाले अर्गानिक कृषिमा लागेका व्यक्ती र कम्पनीबाट उत्पादित सामाग्री एकै ठाउँबाट बिक्री हुने हुँदा मेला सबैका लागि साझा थलो बन्ने बताउनु भयो । मेलामा ५० स्टल र २०० भन्दा बढि सामाग्री राखिएको छ भने स्वदेशी तथा विदेशी गरी करीब एक लाखले मेलाको प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको संयोजक बाँस्कोटाले बताउनु भयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मेलाको सफलताको शुभकामना दिनुहुँदै निजी स्तरबाट अर्गानिक उत्पादनमा बढवा दिदै गईएको र यस्ता मेलाले उद्यमशिलता विकासमा प्रोत्साहन मिल्ने बताउनुभयो ।
ग्लोबल कन्ट्रि अफ डिभाईन वल्र्ड पिसका म्यानेजिङ डाईरेक्टर राजा किन्स्ले ब्रुकले नेपाल अर्गानिक मुलुकका रुपमा रहेर आफ्ना उत्पादनलाई विश्व बजारसम्म पुर्याउन सक्छ भन्दै नेपालले विश्वलाई नै नेतृत्व गर्न सक्ने औंल्याउनुभयो ।
साथै उहाँले वैदिक अर्गानिक कृषि खेतीलाई अभियानका रुपमा अगाडि बढाउन आग्रह गर्नुहुँदै यसले नेपाललाई विकास र उन्नतीमा अगाडि बढाउने उल्लेख समेत गर्नुभयो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, कार्यक्रममा ग्रिल उद्योग संघका अध्यक्ष मोहन कटुवाल, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका का। मु। कार्यकारी निर्देशक सुयस खनाल, नेपाल एओटिएस एल्मुनाइ सोसाईटीका अध्यक्ष प्रशान्त श्रेष्ठ, कृषि अभियन्ता उद्धव अधिकारी, ग्लोबल डिभाईनकी लेस्ले ब्रुक, अर्गानिक ईन्स्पेक्टर महेश्वर घिमिरे, नेपाल अर्गानिक एशोसियसनका उपाध्यक्ष प्रेम लामा लगायतको उपस्थिती रहेको थियो ।
वैशाख ४ गतेसम्म चल्ने उक्त मेलामा ५० स्टलमा चिया, कफी, अचार, मह, जुस, जडिबुटि, हस्तकला आदीका २०० हाराहारी वस्तुहरु बिक्रीका लागि राखिएको छ । मेला विहान १० बजे देखी साँझ ५ बजेसम्म संचालनमा रहने आयोजक संस्थाकी तारा बाँस्कोटाले जानकारी दिनुभयो ।