झापा, चैत ३० । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण गर्ने समिति गठन गरेको छ । जिल्ला समितिले आज गठन गरेको काँग्रेसको संसदिय बोर्ड झापाले नै अब स्थानीय तहको टिकट वितरणको निर्णय गर्ने जिल्ला समितिका एक पदाधिकारीले जानकारी दिनु भयो । काँग्रेसको विधान अनुसार निर्वाचनको टिकट वितरण र सिफारिस गर्ने काम संसदीय वोर्डले गर्नेछ ।
पार्टीको विधान २०१७ संसोधन सहितको धारा ३१ एक को ‘ख’ बमोजिम जिल्ला संसदीय वोर्ड गठन गरेको हो । काँग्रेस झापाका सभापति देउकुमार थेवेको अध्यक्षमा गठित संसदीय बोर्डको सचिवमा कृष्ण हुमागाई र नवीन विमली रहेका छन् ।
त्यस्तै सदस्यहरुमा उपसभापतिद्वय शेरवहादुर भट्टराई, केशवराज पाण्डे, सहसचिवद्वय कालेन्द्र प्रसाद राजवंशी, कमल भण्डारी तथा सभापति पदका निकटतम प्रतिष्पर्धी राम कट्टेल रहेका छन् । जिल्ला सदस्यहरु मध्येबाट सभापतिले मनोनयन गर्ने पाँच जना बोर्ड सदस्यहरुमा रमेश दाहाल, पार्वता गिरी, भक्त खवास, रुद्र चियरिया र सरस्वती सेढाई सदस्य रहेका छन् ।
यसैगरी विधान अनुसार जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने मध्येबाट महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री तथा पार्टीका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, केशव कुमार वुढाथोकी, सरिता प्रसाई, महेन्द्रा कुमारी सुब्बा , सुशीला ढकाल आचार्य र १ नम्वर सभापति उद्धव थापा पदेन सदस्य रहेका छन् ।
काँग्रेसको विधान अनुसार चार तहमा संसदीय बोर्ड गठन हुने र सोही अनुसार निर्वाचनको टिकट वितरण गरिन्छ । वडा सदस्य र अध्यक्षसम्मको टिकट क्षेत्रीय संसदीय बोर्ड मार्फत वितरण हुन्छ भने गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टिकट जिल्लाले बितरण गर्ने तथा नगरपालिकाको प्रमुख र उपप्रमुखको टिकट जिल्लाको संसदीय बोर्डको सिफारिसमा प्रदेश संसदीय बोर्डले बितरण गर्नेछ । त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको टिकट बितरणको निर्णय प्रदेश संसदीय बोर्डको सिफारिसका आधारमा केन्द्रिय संसदीय बोर्डले गर्नेछ ।
यो संगै नेपाली कांग्रेस झापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टी भित्र आन्तरिक अनुसासन कायम राख्न तीन सदस्यीय अनुसाशन समिति गठन गरेको छ । गठित समितिको सभापतिमा पार्टी सभापति थेवे र सदस्यहरुमा पार्टी उपसभापति शेरवहादुर भट्टराई र केशवराज पाण्डे रहेका छन् ।