धुलाबारी, भदौ ३० ।
झापा मेचीनगर ९ धुलाबारीकी १७ बर्षिया अरिस्ता परियार कक्षा ११ मा पढ्दै छिन । सामान्य दैनिकी चलिरहेकै थियो की अरिस्ता अचानक बिरामी परिन । अस्पतालमा जाँच गराउँदा अरिस्ताको दुवै मृगौलाले काम गर्न छोडेको डाक्टरले बताउँदा अरिस्ताकी आमा लक्ष्मी परियारलाई छाँगाबाट खसे झैं भयो ।
मेचीनगर ९ की वडा सदस्य समेत रहेकी लक्ष्मीले आफुलाई सम्हाल्दै छोरी अरिस्तालाई जसरी भए पनि उपचार गराएर बचाउँने निधो गरिन । शुरुमा त अरिस्ता आफैंलाई पनि मृगौलाले काम गर्न छोडेको भन्दा पत्यार लागेन तर जब डाक्टरले मृगौला फेर्नै पर्ने भने पछि भने अरिस्तालाई गरुङ्गो बस्तुले थिचे जस्तो गरी शरिर भारी भयो ।
अरिस्ताका बुवा रमेश दर्जी भारतको मुम्बइमा सिलाई कटाइको काम गर्दै थिए । जब छोरीको खबर सुने तब रमेश घर फर्किए । लकडाउनकै बीच रमेश नेपाल आए र क्वारेन्टाइनको प्रकृया पुरा गरी घर पुगे । जब रमेश घरमा पुगे जेठी छोरी अरिस्तालाई अंगालो हालेर रोए । दुई छोरीलाई राम्रो पडाउनकै लागि मुम्बइमा दुःख गरिरहेका रमेशलाई जेठी छोरीको अवस्था देखेर आफुलाई सम्हाल्न निक्कै गारो भयो ।
रमेशले छोरीको जीवन बचाउन आफ्नै मृगौला छोरीलाई दिने निर्णय गरे । तर मृगौला प्रत्यारोपण गर्न लाग्ने २० लाख भन्दा बढी रकम रमेश र लक्ष्मीले जुटाउन सक्ने अवस्था छैन ।
निम्न आर्थिक अवस्था भएका रमेश र लक्ष्मीले दुःख जिलो गरेर परिवार धानिरहेका थिए । अचानक बज्र परे झैं गरी छोरी अरिस्ताको मृगौलाले काम गर्न छोडे पछि उनीहरुले केही सोच्न सकिरहेका छैनन ।
‘मृगौला त म आफैं दिन्छु तर त्यसका लागि पनि धेरै पैसा चाहिने रैछ । त्यत्रो पैसा हामीले कहाँबाट ल्याउनु ।’ रमेशले भन्नु भयो,‘हाम्री छोरी बचाउन सबैलाई सहयोग गरिदिनुहोस ।’ अरिस्ताकी आमा लक्ष्मी परियार वडा सदस्य भएकाले दैनिक वडाबासीकै समस्याहरुमा ब्यस्त हुनुहुन्छ तर अहिले लक्ष्मी आफैंलाई निक्कै ठुलो समस्या परेको छ । दैनिक अरुकै समस्या सुनेर समाधानमा लाग्ने लक्ष्मी आज आफ्नै समस्या अरुलाई सुनाउँदै हुनुहुन्छ । लक्ष्मीले भन्नु भयो,‘छोरीलाई बचाउन तपाई सबैको सहयोग चाहिएको छ । अहिले छोरीलाइ बचाउन सहयोग गर्नुहोस, जीवनभर तपाईहरुलाई सहयोग गर्नेछु ।’
धुलाबारी माविको कक्षा ११ मा पढ्दै गरेकी अरिस्ता आफुलाई बचाउन सबैसंग आग्रह गर्नुहुन्छ । अरिस्ता भन्नुहुन्छ,‘मलाई बचाउनुहोस, म तपाइहरुकै छोरी सरह हुँ । मलाई बाँच्ने रहर छ ।’ अरिस्तालाई अहिले हप्तामा दुई पटक डाइलासिस गरिरहेको आमा लक्ष्मीले बताउनु भयो ।