झापा, चैत २२ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यतिबेला राजनितिक दलहरु उम्मेद्वार छनौटको तयारीमा जुटेका छन । सत्ता गठबन्धनले साझा उम्मेद्वार बनाउने निर्णय गरेसंगैं झापाका विभिन्न पालिकाहरुमा उम्मेद्वार छनौटको रस्साकस्सी चलिरहेको छ ।
झापाको मेचीनगरमा पनि यतिबेला दलहरु उम्मेद्वार छनौटमा व्यस्त छन । सत्ता गठबन्धनका दलहरु म्याराथुन बैठक बसिरहेका छन । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भित्र पनि वडादेखि नगरप्रमुख र उप्रमुखको उम्मेद्वारी छनौटको प्रक्रिया शुरु भएको ती दलका नेताहरुले बताएका छन ।
२०७४ को स्थानीय तह निर्वाचनका आधारमा सत्ता गठबन्धनका दलहरु र एमालेको मतान्तर हेर्ने हो भने गठबन्धन दलहरु नै अगाडी देखिन्छन । २०७४ को नगर निर्वाचनमा नगरप्रमुखमा काँग्रेसका विमल आचार्य विजयी भएको मेचीनगरमा उपप्रमुखमा भने एमालेकी मिना उप्रेती विजयी हुनु भएको थियो । तत्कालिन अवस्थामा ७५ हजार मतदाता रहेको मेचीनगरमा अहिले करीब १५ हजार मतदाता संख्या बृद्धि भएर ९० हजार पुगेको छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा काँग्रेसका आचार्यले २०७७६ मत ल्याइ विजयी हुनु भएको थियो । वहाँका निकटत प्रतिस्पर्धी एमालेका विष्णु प्रसाद प्रसाईले १९१९२ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै नगरप्रमुख पदमा अन्य उम्मेद्वारहरु नेकपा माओवादी केन्द्रका हंसलाल राजवंशीले ७६९४, राप्रपाका रमेश दाहालले ८०३, संघीय समाजवादी फोरम नेपालका इन्द्रबहादुर श्रेष्ठले ४३९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बुद्धिमान तामाङले २१९ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै स्वतन्त्र उम्मेद्वार इन्द्रवहादुर राईले ४५८, पनिता ढकालले ११५ मत प्राप्त गर्नु भएको थियो ।
त्यसैगरी उपप्रमुखमा नेकपा एमालेकी उम्मेद्वार उप्रेती २००१६ मत प्राप्त गरी विजयी हुनु भएको थियो । उप्रेतीका निकटतम प्रतिस्पर्धी काँग्रेसकी दुर्गा खतिवडाले १९१०६ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रकी इन्दिरा कार्कीले ७६९०, राप्रपाकी सविना बजगाईले १२३५, संघीय समाजवादी फोरम नेपालकी अग्नीमाया मेचेले ६२६ र स्वतन्त्र उम्मेद्वार दत्ता लिम्बुले ५२४ मत प्राप्त गर्नु भएको थियो ।
पछिल्लो स्थानीय तहको मत परिणामका आधारमा हेर्दा एमाले एक्लैको उम्मेद्वारका तुलनामा सत्ता गठबन्धनका साझा उम्मेद्वारहरुको मत तुलनात्मक रुपमा बढी देखिन्छ । सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले साझा उम्मेद्वार उठाउँदा एमालेको मतको तुलनामा केही बलियो देखिन्छ ।
नयाँ दलका रुपमा रहेको नेकपा एसले समेत मेचीनगर १५ वटै वडामा कमिटि बिस्तार गरिसकेको छ भने विभिन्न टोल कमिटि गठनलाई समेत तिब्रता दिएको देखिन्छ । नेकपा एसको संगठन आवद्ध अधिकाशं मतदाता २०७४ को नगर निर्वाचनमा नेकपा एमालेमा मत हालेका मतदाता छन । त्यस्तैले पनि नेकपा एस बिस्तार हुँदै गर्दा नेकपा एमालेलाई केही क्षती हुने सामान्य आँकलन गर्न सकिन्छ । यद्यपी मेचीनगरमा नयाँ थपिएका करीब १५ हजार युवा मतदाताहरु निर्णायक बन्न सक्ने देखिन्छ ।