झापा, चैत १३ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकेको छ । आयोगले सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत रहने गरी देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।
आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको आयोगले जनाएको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको मुख्य निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला अदालतका जेष्ठतम न्यायधीश गिरीराज गौतमलाई तोकेको छ । गौतमले भद्रपुर नगरपालिकाको निर्वाचन अधिकृतका रुपमा समेत काम गर्नु हुनेछ । त्यस्तै झापा मेचीनगरको निर्वाचन अधिकृतका रुपमा रेल विभागका उपसचिव वेदराज फुयल तोकिनु भएको छ ।
त्यसैगरी अर्जुनधारा नगरपालिकामा लोकबहादुर कटुवाल, कचनकवल गाउँपालिकामा बिरेन्द्र बस्नेत, कनकाई नगरपालिकामा दिपक कोइराला, कमल गाउँपालिकामा प्रकाश गौतम निर्वाचन अधिकृत तोकिनु भएको छ ।
त्यस्तै गौरादह नगरपालिकामा विदुर कुमार कार्की, गौरीगञ्ज गाउँपालिकामा लालबहादुर श्रेष्ठ, झापा गाउँपालिकामा झरेन्द्र प्रसाद चापागाई, दमक नगरपालिकामा केशब प्रसाद पन्त, बाह्रदशी गाउँपालिकामा पुष्कलराज प्रसाई, बुद्धशान्ति गाउँपालिकामा डम्बरुप्रसाद निरौला, बिर्तामोड नगरपालिकामा डम्बर प्रसाद काफ्ले, शिवसताक्षी नगरपालिकामा ऋषि पौडेल र हल्दिबारी गाउँपालिकामा नारद प्रसाद भट्टराई निर्वाचन अधिकृतका रुपमा चयन हुनु भएको छ ।
बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि तोकिएका सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई बैशाख २ गते भित्र अभिमुखिकरण तालिम दिइसक्ने निर्वाचन आयोगले जनाएको छ ।