कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ।
अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी संसद सिनेटमा पेश गरेको “कष्टमर वील अफ राइट“ सन् १९६२को मार्च, १५ मा स्वीकृत भएको दिनको स्मरणमा प्रत्येक वर्ष विश्वभर उपभोक्ता अधिकार दिवस मनाइन्छ । यस दिनको सफलताका लागि करिब १०० राष्ट्र सदस्य भएको कन्जुमर इन्टरनेसनलले वर्षभर कार्य गर्ने गरी अन्तर्राष्ट्रिय नारा तय गर्दछ भने प्रत्येक सदस्य रास्ट्रले राष्ट्रिय नारा समेत तय गर्नेगरेका छन् । यस वर्षको अर्थात् सन् २०२२ को अन्तर्राष्ट्रिय नारा “Fair Digital Finance:2022” तय भएको छ भने नेपालको राष्ट्रिय नारा “सुरक्षित र समावेशी विद्युतीय कारोबार : उपभोक्ता अधिकार” रहेको छ ।
नेपालको सन्दर्भमा उपभोक्ता अधिकार संरक्षणको सवाललाई नियाल्दा जयस्थिति मल्लको समयदेखि हालसम्मका कानुनी प्रावधानले नेपाली उपभोक्ताको हितमा काम गर्ने प्रयास गरेको पाइन्छ । वि.सं. १९१० को मुलुकी ऐनमा उपभोक्ता अधिकार संरक्षणको विषयले प्राथमिकता पाएको थियो । आज संविधानको धारा ४४ मा उपभोक्ता हक सुनिश्चित गरिएको छ । मौलिक कानुन उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा छ । उपभोक्ताको हितमा दर्जन भन्दा बढी कानुन कार्यान्वयनमा छन् । कानुन कार्यान्वयनका लागि वाणिज्य बिभाग, ७७ जिल्ला प्रशासन कार्यालय, ७ प्रदेश उद्योग निर्देशनालय र ६ महानगरपालिकामा निरीक्षण अधिकृत नियुक्त भएका छन् । मौलिक कानुन उपभोक्ता संरक्षण ऐन कार्यान्वयनको केन्द्रीय जिम्मेवारीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग रहेको छ । नीतिगत निकायको रुपमा माननीय वाणिज्य मन्त्रीको अध्यक्षतामा उपभोक्ता संरक्षण परिषद्को व्यवस्था छ । कानुनले केन्द्रीय, प्रदेश र स्थानीय बजार अनुगमन समितिको व्यवस्था गरेको छ । राज्य कोषले भ्याएसम्म साधन, श्रोत र जनशक्तिको व्यवस्था मिलाइएको छ । क्षेत्रगत कानुनहरुको कार्यान्वयनका लागि छुट्टै निकायगत व्यवस्था पनि गरिएको छ ।
यसरी पर्याप्त ब्यस्थाका बाबजुद हाम्रो बजार स्वच्छ हुनसकेको छैन । व्यवसायी आफ्नो मूल्य र मान्यतामा चुकेका छन् । उपभोक्ता सचेत, जागरुक र विवेकशील हुनसकेका छैनन् । सूचना र पैरवी यथार्थ र सकारात्मक हुनसकेको छैन । विधिसम्मत वस्तुगत नियमन गर्ने जिम्मेवारी भएका नियामक निकायले उच्च मनोबल र दृढ इच्छा शक्तिका साथ काम गर्न सकेका छैनन् । जसका कारण हाम्रो बजार स्वच्छ हुन नसक्दा उपभोक्ता वस्तु र सेवाका प्रदायकबाट ठगिएका छन् । लुटिएका छन् । उपभोक्ताले वस्तुको मुल्य, तौल र गुणस्तरमामात्र होइन सेवा क्षेत्रबाटसमेत हैरानी खेप्नुपरेको अवस्था छ । बजार, बजारजस्तो छैन, वस्तु र सेवाको खरिद र बिव्रmीस्थल बजारमा उपभोक्ताले ढुक्क भएर खरिद गर्ने र आफूले खरिद गरेको वस्तु र सेवाको निर्भीक भएर उपभोग गर्ने अवस्था छैन । अस्वभाविक रुपमा रातारात वस्तु र सेवाको मूल्य बढेको छ । व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको कारण देखाउँदै आफूखुशी वस्तु र सेवाको मूल्य असुली रहेका छन् । सरकार माग र आपूर्तिको प्रक्षेपण सहित मूल्य विश्लेषण गर्न सकिरहेको छैन ।
आज सन् २०२२ को उपभोक्ता अधिकार दिवसको पूर्व सन्ध्यामा रुस–युक्रेन युद्ध, डलर र पेट्रोलियम पदार्थको मूल्यवृद्धि जस्ता कारणले बजार महगिएको छ । वस्तु र सेवाको बजारबाट विश्वका उपभोक्ता नै पीडित भएको अवस्था छ । विकसित समाजमा उपभोक्ता अधिकार संरक्षणमा उत्पादक, वितरक, सेवाप्रदायक, उपभोक्ता र नागरिकसमाज सबैले आ–आफ्नु भूमिका उल्लेख्य रूपमा निर्वाह गरेका हुन्छन् । हाम्रोजस्तो राजनैतिक, आर्थिक, सामाजिक आदि सबै क्षेत्रमा पछि परेको मुलुकका लागि उपभोक्ता हित संरक्षणको विषय मानवीय दृष्टिकोणले अत्यन्तै संवेदनशील र जटिल हुने हुँदा सरोकारवाला पक्षको भुमिका अपरिहार्य र अहम् हुन्छ । यति हुँदाहुँदै पनि सुशासनको प्रत्याभूतिसहित बजारलाई स्वच्छ तुल्याउने बढी भूमिका राज्य पक्षको हुने हुँदा संघ, प्रदेश एवम् स्थानीय तहका सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गत विभाग तथा कार्यालयहरु अनि सरोकारवाला क्षेत्रगत कानुन कार्यान्वयन गर्ने निकायहरूको कठोर प्रतिबद्धता आजको खाँचो बनेको छ ।
नेपालले राष्ट्रिय नारासहित यो दिवस लामो समयदेखि मनाउँदै आएको छ । विगत वर्षमा “उत्पादनमा गुणस्तरीयता, उपभोगमा विवेकशीलता र आपूर्तिमा सहजता” भन्ने नारा तय भएको थियो । आज पनि त्यसको सान्दर्भिकता उत्तिकै छ । हामीले उक्त नारालाई सार्थक पार्न कति प्रयास ग¥यौं ? के कति काम भए ? उपलब्धि कस्तो रह्यो आदि विषयमा समीक्षा गर्नसक्नुपर्छ । आजको सन्दर्भमा एकदिन तामझाम गर्ने, नारा घन्काउने अनि दुईचार जनालाई प्रशंसापत्र बाँढ्ने सीमित कामलाई वार्षिक कार्यक्रमको उपलब्धि ठानेर बजेट खर्चिने परम्परागत शैलीले यस्ता दिवसको महत्व घट्दै जाने निश्चित छ । वि.सं. २०५४ देखि हालसम्म अरबको हाराहारीमा बजेट खर्चिएर बजार अनुगमनलाई प्राथमिकतामा राख्दा पनि किन बजारमा २५ प्रतिशत पनि मूल्यसुचि राख्न लगाउन सकिएन ? एउटामात्र कामको उपलब्धिलाई समीक्षा गर्ने कि ? आज हामी डिजिटल फाइनान्सका कुरा गर्द छौं । तर, के आज पनि हामीले हाटबजारमा नापतौलमा प्रयोग भैरहेका ढुङ्गा र माटाका डल्लालाई हटाउन सकेका छौं ? विडम्बना होइन र ? यी र यस्ता विषयमा गम्भीर र संवेदनशील भएर काम भएमात्र आजको दिन र नाराको अर्थ रहने छ । अन्यथा यस्ता दिवस देखाउने दाँतमात्र हुने निश्चित छ । अस्तु ।।