झापा, फागुन २८ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली जनतालाई काँग्रेस नेतृत्वको सरकारले गरेको मुख्य चार कुरा बुझाउनु पर्ने बताउनु भएको छ । झापा क्षेत्र नं. १ ले शनिबार मेचीनगर ४ स्थीत बाहुनडाँगीमा आयोजना गरेको ‘घर घर जाउँ, काँग्रेस जिताउँ’ अभियानको पुर्व तयारी कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री शर्माले कोरोना महामारीका बेला सरकारले जनताको जीवन प्रति गभ्भिर भएको बताउनु भएको छ ।
कोरोना महामारीका बेला केपी ओली र शेरबहादुर देउवा नेतृत्वको दुई वटा सरकार बन्यो,’ शर्माले भन्नुभयो, ‘ओली नेतृत्वको सरकारले बेसार पानी र अम्बाको पत्ता भनेर जनताको जीवनप्रति खेलवाड गर्यो तर देउवा सरकारले महामारीबाट नेपाली जनतालाई जोगाउन एउटै लक्ष्य लियो, त्यो हो खोप खोप खोप ।’ शर्माका अनुसार महामारीका बेला नागरिकको जीवन बचाउन गरेको कामलाई जनतासम्म काँग्रेस कार्यकर्ताले बुझाउनु पर्छ ।
त्यस्तै यो सरकारको गठनले संविधानलाई सहि दिशामा हिडाएको शर्माले बताउनु भयो । ‘पटक पटक संसद विघटन हुने कुरालाई यो सरकारले रोकेको छ,’ शर्माले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीको बहुमत हुँदा पनि आवेग र दम्मले पटक पटक संसद विघटन भइरहेको अवस्थामा काँग्रेस नेतृत्वको सरकारले संविधानलाई ट्रयाकमा ल्यायो ।’
काँग्रेस नेतृत्वको सरकारले एमसीसी पारित गरेर नेपालको अन्तराष्ट्रिय छवी बिग्रिनबाट जोगाएको समेत काँग्रेस महामन्त्री शर्माले बताउनु भयो । ‘देशका प्रधानमन्त्रीले गरेको सम्झौता कार्यान्वयन नहुने अवस्था पुगेको थियो, त्यसले हाम्रो देशलाई विश्व समुदायले विश्वास नगर्ने अवस्था भएकाले त्यसबाट जोगाउन काँग्रेसले दृढता पुर्वक एमसीसी पास गरायो,’ शर्माले भन्नुभयो, ‘एमसीसी पारित भएसंगै नेपालमा उत्पादित बिजुली भारतमा बिक्रि गरेर देशको आम्दानी बढाएर त्यसबाट देशका युवाको भविश्य सुरक्षीत गर्न यो सरकारले काम गरेको छ ।’ एमसीसी दुरगामी हिसाबले देशको पक्षमा रहेको शर्माले आज फेरि एक पटक दोहोर्याउनु भएको छ ।
काँग्रेसका पक्षमा आम नेपाली नागरिकलाई बुझाउनु पर्ने चौथो कुरा अब काँग्रेस नेतृत्वले निर्वाचन गराउने बिषय भएको बताउनु भयो । काँग्रेसले सबै तहका निर्वाचन समयमा गराउने निश्चित गरेको कुरा आम नागरिकलाई बुझाउनु पर्ने बताउनु भयो ।
शर्माले काँग्रेसले देश र जनताको हितमा गरेका कामका बारेमा खुलेर सामाजिक सञ्जालमा लेख्न पनि कार्यकर्तालाई आव्हान समेत गर्नु भयो । ‘अब लुरे कुरा गरेर काँग्रेस भइदैंन,’ शर्माले भन्नुभयो, ‘फेसबुक त सबैले चलाउनु हुन्छ तर काँग्रेसले गरेका कुरा खुलेर कतिले लेख्नु हुन्छ ? कसले के भन्छ भन्ने डरले सहि कुरा लेख्न र बोल्न डराउनु पर्दैन ।’
कार्यक्रममा १ नम्बर प्रदेश सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री हिमाल कार्कीले सडक तथा पुर्वाधारका कार्यमा प्रदेश सरकारले धेरै काम गरेको र झापा क्षेत्र नं. १ मा समेत सडक निर्माणमा सरकारले सहयोग गरिरहेको र भविश्यमा समेत निरन्तरता दिने बताउनु भयो ।
काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङ, काँग्रेस जिल्ला उपसभापति केशवराज पाण्डे, पुर्व जिल्ला उपसभापति राम कट्टेल, नगर सभापति सुवेशकुमार पनेरु लगायतले काँग्रेसले गरेका काम अब अभियान मार्फत जनताको घर घरमा पुगेर बुझाउनु पर्ने बताउनु भएको थियो । नविन बरालले स्वागत मन्तब्य गरेको कार्यक्रम क्षेत्रीय सचिव सुरेन्द्र बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।