खाँदबारी, फागुन २६ । मादीमा भएको बस दुर्घटनाका घाइते भएका ५ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले बताए ।
घाइतेमध्ये युका पोखरेल र बलबहादुर कार्कीको अवस्था गम्भीर छ ।
सुवास गोले, तुलसा कटुवाल, अम्बिका विक खतरामुक्त भएपनि थप उपचारका लागि उनीहरुलाई पनि धरान लगिएको छ ।
मादीमा भएको बस दुर्घटनाका मृतकमध्ये १० जनाको सनाखत भएको छ । मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा मादीकी अञ्जना कटुवाल, दीपक दाहाल, इन्द्रबहादुर अधिकारी, आइतबहादुर तामाङ, सविता राउत, श्याम शेर्पा, भवानी दाहाल, दीक्षा कटुवाल, चालक विपीन निरौला, सहचालक उमेर भट्टराई रहेको प्रहरीले जनाएको छ । एक जना पुरुष, दुई महिला र एक बालकको पहिचान भने खुलेको छैन ।
संखुवासभाकाे मादिबाट झापाकाे दमकका लागि छुटेकाे यात्रुबाहक बस आज बिहान ७:३० बजे मादि नगरपालिका ६ काे सातघुम्तिमा सडकबाट करिब ३ सय मिटर तल खसेर दुघट्नाग्रस्त थियो ।