झापा, फागुन २५ । दशकौँअघि निर्माण भएको मेचीनगरकै पुरानो रिङरोड अहिले आएर ओझेलमा परेको छ । उत्तरी मेचीनगर अन्तर्गत ३ वटा वडाको भुभागलाई छोएर निर्माण भएको पुरानो रिङरोड अहिले भने ओझेलमा परेको हो ।
मेचीनगर ३ को दोकानडाँडाबाट मेचीनगर ५ को धिमाल बस्तीसम्म यस रिङरोड जोडिएको छ । पश्चिममा निन्दा खोलादेखि पूर्वमा मेचीको किनारसम्म जोडिएको यस रिङरोड २०५४ सालमा निर्माण भएको हो ।
‘गोरेटो बाटो त त्यसअघि नै बनेको थियो तर रिङरोडको परिकल्पना गर्दै २०५४ सालमा खनिएको हो ।’ मेचीनगर ५ का स्थानीय अनन्त कुमार दाहालले भन्नुभयो ‘त्यतिबेला घर अगाडी ठुलो बाटो आइपुग्यो भनेर उत्साह थियो तर अहिले बाटो ओझेल पर्दा दुःख लागेको छ ।’
उहाँका अनुसार भारतिय बजार नक्सलबारी जानका लागि अत्यन्तै धेरै प्रयोग हुने बाटो हो यो । ‘पहिले पहिले बुधबारे, शान्तिनगर, बुद्धशान्ती यी भेगका मानिस यहि बाटो भएर नक्सल बजार जान्थे’ उहाँ भन्नुहुन्छ ‘सहज र सिधा भएकाले यो बाटो धेरै प्रयोग हुन्थ्यो ।’
तर स्थानीय तहको संरचना परिवर्तन भएसगैँ रिङरोड ओझलमा परेको उहाँको बुझाई छ । ‘नगरपालिका बनेपछि रिङरोड अन्तै सरिहाल्यो, अहिले ४२ फुटे बाटो ओझेलमा परेको छ ।’ उहाँ भन्नुहुन्छ ।
दशकौँअघि निर्माण भएको यस रिङरोड मेचीनगरका ३ वटा वडा (३, ४ र ५) को भुभाग हुदैँ खनिएको छ भने ७ वटा टोल भएर रिङरोड बनेको छ । गाउँको विकास सगँसगैँ घर अगाडी कालोपत्रे सडक आउँछ भनेर ठुलो आशा गरेका त्यहाँका स्थानीय अहिले बाटो नै ओझेलमा परेपछि निरास भएका छन् ।
त्यहाँका स्थानीयका अनुसार २०५४ सालमा निर्माण भएको रिङरोड आर्थीक बर्ष २०७१ ७२ मा ग्राबेल भएको हो । तर त्यतिबेला गरिएको ग्राबेल बिग्रिएर अहिले कतै खाल्डाखुल्डी भएको छ भने कतै सडकको सिमाना नै मिचिएको छ । तरपनि कुनै निकायको रिङरोड मर्मतप्रति चासो गएको छैन ।
‘पहिला कालोपत्रे सडक आउँछ भन्थे, हाम्रो आधा नै जग्गा रिङरोडमा गएको छ तर अहिले न कालोपत्रे भयो न मर्मत नै भएको छ ।’ स्थानीय मोहन सुवेदीले भन्नुभयो ।
उहाँका अनुसार यस रिङरोडमा धेरै मानिसको जग्गा गएको छ । ‘कसैको १ कट्ठा, कसैको अढाई कट्ठा गर्दै रिङरोडले धेरैको जग्गा खाइदियो’ उहाँ भन्नुहुन्छ ‘तर रिङरोड चाहिँ अब कहिले मर्मत हुने हो थाहा छैन ।’
निर्वाचनको समयमा रिङरोड बनाइदिन्छु भन्दै पुगेका नेताहरु निर्वाचनपछि भने हराउने गरेको त्यहाँका नागरिकहरुको भनाई छ । ‘निर्वाचनको समयमा भोट माग्न आउँदा बाटो बनाइदिन्छु भन्थे जितेपछि त खोइ देख्न नै छाडियो’ एकजना स्थानीयले भन्नुभयो ।
‘बल्लबल्ल पुल बन्यो त्यो पनि अहिले जोखिममा छ’
दोकानडाँडा देखि धिमालबस्तीसम्म जोडिएको पूर्व पश्चिम रिङरोडमा धेरै खोलाहरु पर्छन् । जहाँ कतै पुल बनिरहेका छन् त कतै बनिसकेका छन् । तर अचम्मको कुरा स्थानीय सरकार निर्वाचित भइकन केहि बर्षअघि मात्रै बनेका पुलहरु अहिले उच्च जोखिममा परेका छन् ।
निर्माण भएको छोटो समयमै पुल जोखिममा परेका हुन् । समयमै मर्मत नभए अबको बर्खामा पुल नै बगाउने जोखिम रहेको स्थानीय नागरिकहरु बताउँछन् । जोखिममा रहेको पुलको तस्विर :