झापा, फागुन २४ । झापा क्षेत्र नं. ३ का एक हजारभन्दा धेरै सर्वसाधरण विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस, राप्रपा र माओवादी परित्याग गरि उनिहरु एमाले प्रवेश गरेको एमाले झापाका उपसचिव असारु राजवंशीले जानकारी दिनुभएको छ ।
राष्ट्रिय युवा संघ भद्रपुरले आज आयोजना गरेको नगर सभा एवम् पार्टी प्रवेश कार्यक्रममा अन्य राजनीतिक दलका अगुवासहित सर्वसाधरण कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
झाँकीसहित आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल, केन्द्रीय सदस्य दुर्गा प्रसाई, प्रदेशका सचिवालय सदस्य एवम् प्रदेश सांसद बसन्त बाँनिया र जिल्ला अध्यक्ष दिपक कार्कीले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
सोही अवसरमा ज्येष्ठ महिलाहरुलाई अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्मान पनि गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अग्नि खरेलले एमाले नै नेपाली जनताको भाग्य निर्माता रहेको बताउनुभएको छ । उहाँले मुलुकको हितमा एमाले बाहेक कुनै पार्टी उभिन नसक्ने दाबी पनि गर्नुभयो ।
झापा इञ्चार्ज खरेलले गरिव, विपन्न जनताको प्यारो पार्टी एमाले भएका कारण सबै जनताको आशा पनि एमाले नै भएको धारणा राख्नुभएको थियो । महिला, पिछडिएको समुदाय, दलित सबैको आशा गर्ने ठाउँ एमाले भएकाले सबैलाई एमालेमा गोलबन्ध हुन समेत खरेलले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाई, प्रदेशका सचिवालय सदस्य बसन्त बाँनिया लगायतले सम्बोधन गर्नुभएको थियो ।