झापा, फागुन २३ । झापाको अर्जुनधाराबाट २० बर्ष दाम्लोेमा बाँधिएका एक युवकको उद्दार गरिएको छ । मेची अभियानको सक्रियतामा मानसिक सन्तुलन गुमाएका एक युवकको उद्दार गरिएको हो ।
अर्जुनधारा नगरपालिका वडा नं १ का २६ बर्षिय रोशन ढुङगेललाई अभियानले उद्दार गरेको हो । उनलाई उपचारका लागि आज नै बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको अभियानका सदस्य कौशल भण्डारीले जानकारी दिनुभएको छ ।
सामान्य अवस्थाकै जन्म भएका ढुङगेललाई २ बर्षको हुँदा बिराम लागेको थियो । ‘त्यसबेला उपचार गरिएन । धामी झाँक्रीको भर परियो’ ढुङगेलका बाबु दुर्गाप्रसादले भन्नुभयो ‘पछि बिराम त जाति भयो, तर, यस्तो खालको समस्या उत्पन्न भयो ।’
दुर्गाप्रसादले २ बर्षको उमेरदेखि रोशनको बोली हराएको र अस्वाभाविक हाउभाउ देखाउन थालेको बताउनुभयो । निम्न आर्थिक अवस्था भएका ढुङगेल परिवार बिरामीको उपचार गराउन शहरका अस्पताल लान सक्ने अवस्थामा पनि छैनन् ।
बाबु दुर्गाप्रसाद गाउँकै एउटा किराना पसलमा ज्याला मजदुरीको काम गर्छन् । त्यहाँबाट आएको तलबले घर चल्ने गरेको छ । छोराको उपचार गर्नुभन्दा उसको गोठालो गर्न उत्तम सम्झेर दाम्लोेले बाँधेर राखिएको पीडा उहाँले पोख्नुभयो ।
यता अर्जुनधारा नगरपालिकाले उपचारमा लानका लागि एम्बुलेन्स निशुल्क उपलब्ध गराएपछि मेची अभियानले उनको उद्दार गरेर अस्पताल लगेको हो ।
बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पनि निशुल्क उपचार गर्ने भएपछि रोशनले नयाँ जिन्दगी पाउने आशा पलाएको बाबु दुर्गाप्रसादले बताउनुभयो ।