झापा, फागुन १० । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. १ का अगुवा नेता कार्यकर्तासंग एमसीसीको बुँदा बुँदामा छलफल गर्नु भएको छ । धुलाबारीस्थीत नेपाली काँग्रेस क्षेत्र नं. १ को कार्यालयमा आयोजना गरिएको एमसीसी सम्बन्धी छलफलमा नेता तथा कार्यकर्ताहरुले उठाएका प्रश्नको एक एक गरी उत्तर समेत दिनु भएका महामन्त्री शर्माले एमसीसी सम्झौता अगाडी राखेरै बुँदा बुँदाका बारेमा कार्यकर्तालाई बुझाउनु भएको थियो ।
काँग्रेस कार्यकर्ताहरुले एमसीसी सम्झौताका कारण अमेरिकी सेना आउने, नेपालले गरेको सम्झौतामा भारतको सहमति किन लिनु पर्ने, जनता सडकमा आएका बेला काँग्रेसले मात्रै एमसीसी पास गर्नु पर्छ किन भन्नु पर्ने, चीन र अमेरिकाको झगडामा नेपाल किन फसेको जस्ता प्रश्नहरु महामन्त्री शर्मालाई गरेका थिए । कार्यकर्ताका प्रश्न र एमसीसी सम्झौताका बुँदामा उल्लेख गरिएका बिषयलाई खुलस्त रुपमा शर्माले प्रष्ट पार्नु भएको थियो ।
शर्माले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा भ्रम फैलाउनका लागि एमसीसीमा हुँदै नभएको बिषयलाई प्रचार गरिएको बताउनु भयो । ‘फेसबुकमा आएका कुरालाई लिएर एमसीसीको बिरोध गर्नु बिल्कुलै गलत हो,’ शर्माले भन्नुभयो, ‘एमसीसीको कुन बुँदाले अमेरिकको सेना नेपालमा आउँछ भन्ने उल्लेख गरेको छ त्यो देखाइदिन पनि एमसीसीको बिरोध गरिरहेकाहरुलाई आग्रह गर्दछु ।’
हुँदै नभएको कुरा उठाएर भ्रम फैलाउँदै हिडेको भिडको पछाडी काँग्रेस नलाग्ने पनि महामन्त्री शर्माले बताउनु भयो । ‘गलत कुरा गरिरहेको भिडको पछाडी काँग्रेस लाग्दैन,’ वहाँले भन्नुभयो, ‘सत्य कुरा गर्दा कहिले काँही एक्लै पनि हुन सकिन्छ ।’
अहिले एमसीसीको बिरोध हुनु र २०५१ मा अरुण तेस्रो जलविद्युत आयोजनाको बिरोध हुनु एउटै उस्तै भएको शर्माले बताउनु भयो । ‘२९५१ सालमा विश्वबैंक सहितका संस्थाहरुले बनाउँदा राष्ट्रघात हुने अरुण तेस्रो जलबिद्युत आयोजना २०७५ सालमा भारतको कम्पनीले बनाउँदा राष्ट्रबाद कसरी भयो,’ शर्माले प्रश्न गर्नु भयो । राष्ट्रबादको गलत ब्याख्या गरेर देशको समृद्धिलाई अरुण तेस्रो जस्तै एमसीसीलाई पनि २५ बर्ष पछि धकेलिन नदिने महामन्त्री शर्माले स्पष्ट पार्नु भयो ।
महामन्त्री शर्माले काँग्रेसका कार्यकर्तालाई एमसीसी सम्झौताको पूर्णपाठलाई गहिरो गरी अध्ययन गर्न र त्यसको पक्षमा खुलेर बोल्न पनि आवहान गर्नु भयो ।