विर्तामोड, फागुन ८ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिम रावल र नारायणकाजी श्रेष्ठहरु मन्त्री भएकै बेला पनि एमसीसी प्रक्रिया अगाडी बढेको दाबी गर्नु भएको छ । महामन्त्री शर्माले रावल र श्रेष्ठ मन्त्री भएका बेला एमसीसीका बारेमा निर्णय नभएको भए आफु पद त्याग गर्न तयार रहेको बताउनु भयो ।
आइतबार झापाको बिर्तामोडमा सि.के चिन्तन प्रतिष्ठान झापाको आयोजनामा सि.के प्रसाईंको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री शर्माले भन्नुभयो, ‘आफु मन्त्री हुँदा एमसीसी परियोजना अगाडी बढाउन निर्णय गर्ने अनि अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौति दिन चाहन्छु, तपाइहरु सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाइहरु तयार हुनुहुन्छ ?’
शर्माले नेपाल चिन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताउनुभएको छ । वहाँले भन्नुभयो, ‘विश्वका सबै देशले गरेको सहयोग, लगानी र ऋण लिन नेपाल तयार छ तर कुनै पनि देश वा संस्थाको सैन्य रणनीतिमा नेपाल कहिल्यै पनि सामेल हुँदैन ।’
कांग्रेसले सरकार हुँदा पनि नहुँदा पनि एमसिसिबारे स्पष्ट धारणा राख्दै आएको बताउँदै शर्माले एमसिसिबारे नबुझी विरोधमा उत्रिएर उग्र राष्ट्रवाद प्रदर्शन नगर्न समेत सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । ‘एमसीसी सम्झौताको कुन धाराले अमेरिकी सेना नेपाल आउने किटान गरेको छ त्यस बारेमा बिरोध गर्नेहरुले आम नेपालीलाई खुलेर भन्नु पर्छ,’ शर्माले भन्नुभयो ।
‘एमसीसीलाइ अहिले राष्ट्रघातको रुपमा हेरिएको छ तर यो सत्य होइन, अबको २० बर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुन्छ,’ शर्माले भन्नुभयो’ ‘एमसीसीको सहयोगबाट विजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई विजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।’ आफ्नो जग्गामा घर बनाउँदा समेत छिमेकीको स्वीकृति चाहिने भन्दै उहाँले एमसीसीबाट हुने विकासमा पनि सोही नीति लागु हुने भनाई राख्नुभयो ।
अन्तर्राष्ट्रिय सन्धि सम्झौता निश्चित फरम्याट अनुसार हुने उल्लेख गर्दै महामन्त्री शर्माले एमसीसी पनि सोही फरम्याट अनुसार नै भएको उल्लेख गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्दा पनि अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्छ भनेर तीब्र विरोध भएको स्मरण गर्दै अहिले उक्त विमानस्थलको प्रयोग गरेर लाखौं मानिसहरु आवतजावत गरिरहेको र यसका कारण कुनै हस्तक्षेप नभएको उहाँको भनाई थियो ।
जनसहभागिताबाट बनेको संविधान र संविधानले अवलम्बन गरेको संवैधानिक संस्कार पालना गर्ने कि नगर्ने ? भन्ने मूल प्रश्न अहिले उठेको बताउँदै उहाँले देशको समृद्धि, विकास र समुन्नतिका लागि सि.के प्रसाईको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।