बिर्तामोड, फागुन ५ । नेपालकै लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको गीत र मस्कट सार्वजनिक गरिएको छ । प्रतियोगिताको पाँचौं संस्करलाई थप उचाई दिन र भब्य रुपमा सम्पन्न गर्न आयोजकले पहिलो पटक प्रतियोगिताको लोगो गीत र मस्कट सार्वजनिक गरेको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताउनु भयो ।
प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले बिहिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत, मस्कट र नारा सार्वजनिक गरिएको हो ।
गीतकार बसन्त थाम्सुहाङको रचना रहेको गीतमा पारस मुकारुङले संगीत दिनु भएको छ भने उक्त गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ ।
त्यस्तै, पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रुपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल किक गर्दै गरेको प्रतिकका रुपमा मस्कट निर्माण गरिएको छ । मस्कटको निर्माण कलाकार पवन राजवंशीले गर्नु भएको हो ।
यो वर्षको झापा गोल्ड कपको नारा ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो सान’ तय गरिएको छ । झापामा स्थायी रंगशाला निर्माण गर्ने उद्देश्यका साथ यो नारा सार्वजनिक गरिएको गोल्डकपका अध्यक्ष बस्नेतले बताउनु भयो।
झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले बताउनु भयो ।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार र उच्च गोलकर्तालाई २५ हजार रूपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ।
गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिता फागुन २१ गते देखि २७ सम्म सञ्चालन हुनेछ ।