झापा, फागुन ५ । झापाका १५ पालिकामध्ये ९ पालिका अझै दमकलविहीन छन् । विपद्का बेला अत्यन्तै महत्वपुर्ण मानिने अझ आगलागीका बेला त नभइ नहुने साधन दमकल जिल्लाका ६ पालिकामा मात्रै रहेको पाइएको हो ।
नगरपालिकाहरु मध्ये जिल्लाको मेचीनगर, भद्रपुर, विर्तामोड, गौरादह र दमक नगरपालिकासगँ मात्रै दमकल छन् भने गाउँपालिकाहरु मध्ये कमल गाउँपालिकासगँ मात्रै दमकल रहेको छ । जिल्लाका अन्य पालिका दमकलविहीन छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विपद् व्यवस्थापनका लागि अत्यावश्यक उपकरण दमकल सञ्चालनको जिम्मा स्थानीय तहलाई नै दिएको छ । जसअन्तर्गत पनि दमकल तयारी अवस्थामा राख्ने महत्वपुर्ण जिम्मेवारी स्थानीय तहको हो ।
तरपनि १५ वटा पालिका रहेको झापामा ६ वटा पालिकामा मात्रै दमकल छन् । अझ भएका दमकल पनि चाहिने बेलामा चल्दैनन् ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लाका कन्काई, अर्जुनधारा र शिवसताक्षी नगरपालिका दमकलविहीन छन् भने बुद्धशान्ती, बाह्रदशी, गौरीगञ्ज, हल्दीबारी, कचनकवल, झापा लगायतका गाउँपालिकामा पनि दमकल छैनन् ।
चाहिने बेलामा चल्दैनन् दमकल
आगलागीका घट्ना निरन्तर भइरहेको मेचीनगर नगरपालिकामा पनि दमकल नभएको होइन । तर आवयश्यक समयमा नगरको दमकल चलेको छैन । कतै आगलागी भएको ठाउँमा दमकल नै पुगेको छैन भने कतै आगो निभाउँदा निभाउँदै बिग्रिएको छ ।
दमकलको सन्दर्भमा नगरपालिका संवेदनशिल नबनेको भन्दै नगरपालिकाको लगातार आलोचना पनि भइरहेको छ । गत आइतबार बिहान मेचीनगर–६ काँकडभिट्टामा दुई घरमा आगो लाग्यो । बेलैमा दमकल पुग्न सकेन ।
दमकल नै नआएपछि स्थानीय र सुरक्षाकर्मीले बालुवा र स्याउलाको भरमा आगो निभाउने अवस्था बन्यो । समयमा दमकल नआएपछि दुवै घर जलेर खरानी भयो । स्थानीय अत्यन्तै आक्रोशीत भए । स्थानीयको आक्रोशले काँकरभिट्टाको सडकमा उग्ररुप नै लियो ।
पूर्व–पश्चिम राजमार्ग नै अवरुद्ध भयो भने नगरपालिकाको गेटमा समेत ताला लाग्यो । स्थानीयले सडकबाटै नगरप्रमुख र उपप्रमुखको राजिनामा समेत मागेका थिए । यसको अघिल्लो दिन मात्रै मेचीनगर १४ को चाउचाउ कारखानामा पनि आगलागी भयो ।
तर आगलागी नियन्त्रणका लागि पुगेको मेचीनगरको दमकल पुनः बिग्रियो । जिल्लाका अन्य पालिकाका साथै छिमेकी जिल्लाका दमकलको सहयोगमा त्यहाँको आगो नियन्त्रणमा आएको थियो ।
यसअघि मेचीनगरकै एसएस फुटवेयरमा पनि भिषण आगलागी भएको थियो । त्यहाँ त बिग्रिएका कारण मेचीनगरको दमकल नै पुगेन । आगो निभाउन त्यहाँ भारतबाट पनि दमकल आएको थियो । तर मेचीनगरको भने पुग्न सकेन । यसरी चाहिले बेलामा भएका दमकलले पनि सेवा दिन सकिरहेका छैनन् ।
मेचीनगरमा दुई वटा दमकल थिए । जसमध्ये पुरानो दमकल लामो समयदेखि बिग्रिएर थन्किएको छ । अर्को दमकल पनि पटकपटक बिग्रिँदै थन्किने गरेको छ । अब भने नगरमा नयाँ दमकल ल्याउन पहल भइरहेको पनि नगरपालिकाले जानकारी गराएको छ ।