भानुभक्त आचार्य ।
युरोप र अमेरिकामा सन् १९२० को दशकमा रेडियोको नियमित प्रसारण सुरुभयो । काठले बनेका ठूला रेडियोहरुलाई घरको बैठक कोठाको बिचमा राखेर परिवारका सबै सदस्यहरुले समाचार, गीतसंगीत र अन्य कार्यक्रमहरु सुन्ने गरिन्थ्यो । सन् १९२६ मा टेलिभिजनको आविश्कार हुने बित्तिकै रेडियो अब मर्छ भन्ने ठानिएको थियो । टेलिभिजन प्रसारण आरम्भ भएपछि बैठक कोठाबाट रेडियो विस्थापित भएर भान्छाकोठा वा बाथरुममा पुग्यो तर रेडियो मरेन ।
तर दोस्रो विश्वयुद्धमा भर्खरै बामे सर्दै गरेको टेलिभिजनलाई पछि पारेर रेडियोले प्रभावकारी ढंगले युद्धका समाचारहरु प्रसारण गर्यो । खासमा तिनै दोस्रो विश्वयुद्धमा बेलायती फौजका तर्फबाट लड्न पठाइएका नेपालीहरुले नेपालमा रेडियो यन्त्र ल्याए जतिबेला नेपालमा रेडियो प्रसारण सुरु भएकै थिएन र रेडियोले राणा शासनलाई अप्ठेरो पार्छ भन्ठानेर सर्वसाधारणलाई रेडियो राख्न निषेध गरिएको थियो । नेपालमा राजनीतिक आन्दोलन चर्कने भएपछि राणा शासनकालको अन्त्यतिर लाइसेन्स लिएर रेडियो राख्न दिन थालियो ।
पछि पुँजीवादी र साम्यवादी देशहरुबीचको शीतयुद्धको समयमा बिबिसी (बेलायत), रेडियो मस्को (सोभियत संघ), एबिसी (अमेरिका), सिआरआइ (चीन), अल इन्डिया रेडियो (भारत) आदिले विभिन्न भाषामा रेडियो प्रसारण आरम्भ गरेर रेडियोलाई विदेशका नागरिकलाई आफ्नो पक्षमा पार्ने राजनीतिक उपकरणको रुपमा प्रयोग गरे । जेसुकै उद्देश्यका लागि प्रसारण गरेको भए पनि रेडियोले विभिन्न देशको भाषा, संस्कृति र संगीतको विकासमा अतुलनीय योगदान पुर्यायो ।
अझ इन्टरनेटको आगमनपछि रेडियो कसरी बाँच्ला भन्ने सोचिएको थियो । रेडियो प्रसारणको परम्परागत प्रविधिलाई इन्टरनेटले क्रमशः विस्थापित गर्दै लग्यो । सन् २००० को दशकमा रेडियो मोबाइल टेलिफोनमा समेत समावेश भयो । सवारीसाधनमा यात्रा गर्नेले रेडियो सहजै रेडियो सुन्न सकिने सकिने भयो तर चालकले टेलिभिजन हेर्न वा इन्टरनेट चलाउन निषेध गरियो । समयक्रममा टेलिभिजनमा समेत रेडियो सहजै बजाउन सकिने प्रविधि आयो । साइकल, कार, हवाइजहाज, टर्चलाइट, फोन, डटपेन, घडि, क्याल्कुलेटर लगायत जुनसुकै यन्त्र वा उपकरणमा रेडियो सहजै फिट हुने सक्ने भयो ।
अहिले संसारमा करिब डेढ अर्ब कारहरु सञ्चालनमा छन् । प्रायः ती सबैमा रेडियो उपकरण फिट गरिएको हुन्छ । संसारमा अहिले करिब ६ अर्ब ६० करोड स्मार्टफोन (मोबाइल) प्रयोगमा छन् । प्रायः ती सबैमा रेडियो प्रसारण सुन्न सकिन्छ । यसको अर्थ संसारमा जति मान्छे छन्, ती भन्दा बढी संख्यामा रेडियो सुन्न सकिने उपकरणहरु छन् ।
जसरी ईश्वरलाई सर्वव्यापी भनिन्छ नि, त्यस्तै रेडियोको सिग्नल नपुगेको संसारको बिरलै कुनै ठाउँ होला । रेडियो पौराणिक पात्र रक्तबिज जस्तै एकको दश, दशको सय, सयको हजार गर्दै बढेको बढ्यै छ । मार्कोनी बाँचिरहेका भए अहिले रेडियोको सर्वव्यापकता देखेर चकित पर्ने थिए होला । निश्चय नै रेडियो अजरअमर छ । जुनसुकै प्रविधिमा पनि रेडियोले आफ्नो अस्तित्व बचाएकै छ । रेडियो अझै निरन्तर बाँचिरहोस् । रेडियो दिवसको शुभकामना
[लेखक अचार्य आम सञ्चारका प्राध्यापक तथा कुशल प्रशिक्षक हुनुहुन्छ ।]