बैशाख ३० का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसंगै चुनावी चर्चा सुरु भएको छ । अहिले मुलत चुनावी प्रतिस्पर्धामा आउन सक्ने उम्मेद्वारहरुका बारेमा अडकलबाजी सुरु भएको छ भने पाँच बर्ष अघि स्थानीय तहको चुनावमा निर्वाचित भएका जनप्रतिनिधिहरुले गरेका कामको मुल्याकंन पनि संगसंगै भइरहेको छ ।
चुनावी मैदानमा आउने राजनितिक दलहरुको संख्या त उल्लेख्य नै हुनेछ तर चर्चा फेरि पनि दुई मुख्य ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले कै बढी हुने निश्चित देखिन्छ । एक अर्काका मुख्य प्रतिस्पर्धी रहेका काँग्रेस र एमालेले नै यो पटक पनि स्थानीय तहको चुनावमा बर्चश्व राख्ने स्वभाविक आँकलन गर्न सकिन्छ ।
निर्वाचन सकिएको केही बेर पछि देखि अर्को निर्वाचनको अघिल्लो दिनसम्म नै प्राय जसो सबै पार्टीका नेता कार्यकतादेखि लिएर आम सर्बसाधारणले पनि परिवर्तनको नारा राम्रैसंग लगाउने गरेका छन । तर जब परिवर्तनको क्षण (मतदान गर्ने बेला) आउँछ तब सारा कुरा बिर्सिएर फेरि उ आफुले हिजोदेखि हाल्दै आएको पार्टी र तीनले उठाएका उम्मेद्वारलाई नै मतदान गरेर बाहिर निस्कन्छ । अनि भन्छ, ‘बिकल्प नै छैन ।’
यो एउटा मतदाताले बिकल्प नदेखेको होइन । हाम्रो समाजलाई दलिय राजनितिले यसरी प्रभाव पारेको छ की उसले परिवर्तनका लागि अहिले ठुला भनिएका काँग्रेस र एमालेको बिकल्प नै देख्दैन । एउटा मतदाताले मत हाल्ने बेलामा धेरै कुरा सोच्छ । खानेपानीको सञ्चालक समिति, उद्योग वाणिज्य संघको कार्यसमिति, पार्टी भित्रका थुप्रै अवसर र सभ्भावित नियुक्ति सबै एकै पटक उसको दिमागमा आउँछ र उसको मनले अरु कुनै पार्टी वा उम्मेद्वारलाई भोट हाल्ने आँट गर्दैन र फेरि पनि काँग्रस वा एमालेकै चुनाव चिन्हमा भोट हाल्छ र आफुलाई राजनितिक दलको बन्धक बनाएर मतदान केन्द्रबाट बाहिरिन्छ । अलि पर पुगे पछि यसपाली परिवर्तनका लागि फरक उम्मेद्वारलाई भोट हालेको भए पनि हुन्थ्यो भन्ने उसलाई नलाग्ने होईन तर त्यो अवसर उसले केही बेर अघि गुमाइसकेको हुन्छ ।
मानौं काँग्रेस र एमालेका लागि आम जनता भनेको राजिनामा पास गरेर दिएको कुनै जग्गा हो । जुन जग्गाधनीले नचाहीकन अरु कसैको स्वामित्वमा जान सक्दैन ।
२० औं बर्षदेखि त्यही काँग्रेस र एमालेको बर्चश्व रहेको नेपाली राजनितिले अहिलेसम्म एउटा आम मानिसले बिरामी हुँदा उपचार गर्ने खर्च नभएर मर्नु परेको अवस्थालाई सुधार गर्न सकेनन तर पनि उ तीनै पार्टीलाई बर्षौदेखि भोट हालिरहेको छ । काँग्रेस र एमालेकै जनप्रतिनिधिको बाहुल्य भएको नगरको दमकल बिग्रिएर हप्तौं दिन नबानाइकन थन्किरहँन्छ तर पनि एउटा आम मानिस त्यो सबै भुलेर तिनै काँग्रेस र एमालेलाई भोट हालिरहन्छ । त्यती मात्र होइन चुनाव ताका राजनितिक दलहरुले जुन घोषणा पत्र बनाएर भोट मागे चुनाव जितेको दिनदेखि जनप्रतिनिधिले त्यो घोषणा पत्रमा भएको केही काम गर्दैनन तर पनि एउटा आम मानिस कुनै प्रतिबाद गर्न सक्दैन । उ विवस भएर फेरि पनि काँग्रेस र एमालेको चुनाव चिन्ह खोजी खोजी भोट हालिरहन्छ ।
मानौं काँग्रेस र एमालेका लागि आम जनता भनेको राजिनामा पास गरेर दिएको कुनै जग्गा हो । जुन जग्गाधनीले नचाहीकन अरु कसैको स्वामित्वमा जान सक्दैन । राजिनामा पास गरेर प्राप्त भएका कार्यकर्ताको बलमा चुनाव पछि मनपरी गर्न छुट पाएका कार्यकर्तालाई चुनावका दौरान तिनै दलका नेताहरुले परिवर्तनको ठुलो लठ्ठु अगाडी सारीदिन्छन र ति कार्यकर्ता र आम जनता त्यही लठ्ठुमा मस्त हुन्छन । उता दलका नाइकेहरुले उनलाई लठ्ठु खुवाएर मनपरी गर्ने लाइसेन्स पाएको आम मानिसले पत्तै पाउँदैन ।
छिमेकी देश भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले कुनै दिन कुनै दस्तावेजका बारेमा चर्चा गरेनन । समाजबाद भनेर फलाकेर हिडेनन । कुनै बाटोमा फोटो खिच्न पुगेनन । औपचारिक कार्यक्रममा प्रमुख अतिथि वा अतिथि बन्न होडबाजी गरेनन । उनले गरेत मात्रै आम जनताको जीवन सजिलो बनाउने चिन्तन । त्यसको फल आज दिल्लीका जनताले लिइरहेका छन । पानी, बिजुली र स्वास्थ्य उपचार निशुल्क प्राप्त गरेका दिल्लीबासीका लागि पाँच सय वटा मोहल्ला क्लिनिक सञ्चालनमा आएको छ । जसमा एउटा एबिबिएस चिकित्सक सहित प्रयोगशालाको समेत ब्यवस्था छ । जुन केजरीवाल सरकारको तर्फबाट आम दिल्लीबासीका लागि निशुल्क सेवाको उपहार जस्तै भएको छ । त्यती मात्रै होइन दिल्लीबासीका लागि जुनसुकै रोगको ८० लाख सम्मको उपचार निशुल्क गरेर केजरीवालले आम मानिसको जीवन सजिलो बनाउने ध्याउन्नमा लागेको पुष्टी गरेका छन । समाजबादको सिद्धान्त फलाकेर कहिले नथाक्ने नेपालका राजनितिक दल र तिनका नेताका लागि समाजबाद अध्ययनको एउटा राम्रो विश्वबिद्यालय नै हो दिल्ली सरकार ।
तर हाम्रो समाजमा आम जनताका लागि काम गर्छु भनेर उम्मेद्वार उठ्नेलाई जोकर बनाउने बाहेक अरु कुनै काम हुँदैन । किन की आम नेपाली सबै कुनै न कुनै राजनितिक दलको प्रभावमा परेका छन । उसलाई आफैं प्रति विश्वास छैन जति उसले आस्था राखेको दल प्रतिको विश्वास छ । त्यसैले ति दलका नेताहरुले आम जनतालाई स्थायी सम्पत्ती बनाएका छन । जसका लागि केही गर्नु पर्दैन किन की उ मालिकको सम्पत्ति हो । मालिकको चाहना बिना सम्पत्तिको अर्को मालिक आउन सक्दैन ।
देशमा आम नागरिकका लागि स्वास्थ्य र शिक्षामा राज्यले पूर्ण खर्च ब्यहोर्छ भन्ने कुरा अहिलेका मतदाताले पत्याउनै छोडिसके । एउटा मतदाता आफुले आफुलाई विश्वास नै गर्न छोडिसक्यो । मतदान गर्नु भनेको आफ्नो एउटा समान्य नियमित प्रक्रिया मात्रै बुझेका धेरै मतदातालाई यही मतदानबाट आफ्नो भविश्य कोर्न सकिन्छ भनेर विश्वास नै लाग्न छोडेको छ ।
एउटा आम मानिस जुनसुकै बिरामी हुँदा पनि राज्यले सम्पूर्ण उपचार खर्च ब्यहोर्छ भन्ने कल्पनासम्म पनि गर्न नसक्ने अवस्थामा पुर्याइएको छ आम मतदातालाई । त्यसैले अब आम मतदातालाई त्यो निन्द्राबाट बाहिर निकालेर सार्थक परिवर्तन हाम्रै पालामा हुन्छ र यही स्थानीय चुनावमा गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु अत्यावश्यक भइसकेको छ ।
बैशाख ३० मात्रै चुनाव होइन । आम नेपालीको भाग्यको फैसला गर्ने दिन हो । परिवर्तन भाषणले होइन तपाइले हालेको मतले आउने हो । अबको चुनाव मालिकहरुलाई होईन तपाइ बिरामी हुँदा ठुक्कले अस्पताल जान सक्ने अवस्था बनाउन, वालबच्चा पडाउन भएकाहरुले जग्गा बेच्नु पर्ने र नभएकाहरुले पडाउनै नसक्ने अवस्थाको अन्त्य गर्ने गरी मतदान गर्नुहोस । फेरि पनि तिनै राजनितिक दलका उम्मेद्वार मात्रै होईन आफ्नो दिन दैनिकीका बिषय सम्बोधन गर्न सक्ने उम्मेद्वार छान्नुहोस । राजनितिक दल मात्रै होईन आफुलाई पनि हेर्नुहोस । हामी परिवर्तन गर्न सक्छौं भन्ने आफैंले आफुलाई विश्वास गर्नुहोस । बैशाख ३० साँचो अर्थमा परिवर्तनको दिन बनोस सबैमा शुभकामना ।