झापा, माघ २९ । मेचीनगरका दुई ठुला उद्योगमा १० दिनको फरकमा आगलागी भएको छ । पछिल्लो १० दिनको अन्तरमा मेचीनगर ६ को एसएस फुटवेयर र मेचीनगर १४ को मगमग चाउचाउ उद्योगमा भिषण आगलागी भएको हो ।
शनिबार बिहान ४ बजे मेचीनगर १४ स्थीत मगमग चाउचाउ उत्पादन गर्ने मनसा थाइफुड उद्योगमा आगलागी भएको थियो । आगलागीका कारण उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । उत्पादनमा प्रयोग हुने मेसिन, कच्चा पदार्थ, र भण्डार गरेर राखेको तयारी उत्पादन जलेर नष्ट भएको उद्योगका सञ्चालकले जानकारी दिएका छन ।
करीब ३० करोड बढीको क्षती हुने गरी भएको आगलागी नियन्त्रणमा लिन झापा, मोरङ, सुनसरी र इलामका १८ वटा दमकल प्रयोग भएका थिए भने जनपथ, शसस्त्र प्रहरी र नेपाली सेना सहित स्थानीयहरुले समेत आगो निभाउन सहयोग गरेका थिए । बिहान शुरु भएको आगो नियन्त्रणमा लिन दिनभरि नै लागेको प्रहरीले जनाएको छ ।
बिद्युत सर्टका कारण आगलागी भएको प्रहरीको प्रारभ्भिक अनुन्धानले देखाएको भए पनि आगलागीको कारणका बारेमा बिस्तृत अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
१५० जना पूर्णकालिन र करीब ३ सय अल्पकालिन कामदारलाई रोजगारी दिएको मगमग चाउचाउ उद्योग ४ बर्ष अघि स्थापना भएको थियो ।
यस अघि माघ २० गते पनि मेचीनगर ६ काकरभिट्टास्थीत एसएस फुटवेयर उद्योगमा भिषण आगलागी भएको थियो । उक्त आगलागीका कारण करीब साढे ९ करोडको क्षती भएको थियो ।
त्यस्तै २०७८ बैशाख २० गते पनि मेचीनगर १५ स्थीत पराजुली बायोमास ब्रिकेट उद्योगमा समेत आगलागी भएको थियो । उद्योग पूर्ण रुपमा नष्ट हुने गरी भएको आगलागी पूर्ण रुपमा नियन्त्रणमा आउन एक साता लागेको थियो ।