झापा, माघ २१ । झापाको मेचीनगर नगरपालिकाको दमकल (बारुण यन्त्र) १२ दिनसम्म मर्मत नगरी कार्यालयमा नै थन्क्याएर राखिएको खुलासा भएको छ । २०७८ माघ २ गते बिग्रिएको दमकल माघ १४ गतेसम्म मर्मतका लागि नपठाएर कार्यालयमा नै थन्क्याएर राखिएको खुल्न आएको हो ।
माघ २ गते इलामको श्रीअन्तुको चिया कारखानामा भएको आगलागी नियन्त्रण गर्न जानेक्रममा बिग्रिएको दमकल माघ १४ गते बेलुका मात्रै मर्मतका लागि बिर्तामोड लगिएको मेचीनगरका दमकलका कमाण्डर शेरबहादुर लिम्बुले सेतोपत्रलाई जानकारी दिनु भयो ।
‘श्रीअन्तु जाँदा दमकल बिग्रियो,’ कमाण्डर लिम्बुले सेतोपत्रसंग भन्नुभयो, ‘माघ ३ गते बिहान १० बजे नै मैले नियम अनुसार दमकल बिग्रिएको प्रतिवेदन कार्यालयमा बुझाएं ।’
प्रतिवेदन बुझाइसके पछि मर्मतका लागि कार्यालयले प्रक्रिया अगाडी बढाउनु पर्ने हो तर दमकल बिग्रिएको बिषयमा लामो समयसम्म कार्यालयमा कसैले चासो नलिएको दमकलका अर्का एक कर्मचारीले सेतोपत्रलाई बताउनु भयो ।
माघ १४ गते बेलुकाको समयमा बिर्तामोडस्थीत गौरी ग्यारेजमा मर्मतका लागि मेचीनगरको दमकल ल्याइएको ग्यारेज सञ्चालक गौरी चौधरीले सेतोपत्रलाई बताउनु भयो । ‘माघ १४ गते शुक्रबार बेलुका तिर दमकल बनाउन ल्याएको हो,’ चौधरीले भन्नुभयो, ‘आएदेखि नै त्यसैको काम गरिरहेको छु, पानी तान्ने पाइप भाँचिएको छ, पछाडीको भाग सबै भत्कीएकाले त्यसलाई बनाउन समय लाग्छ ।’ चौधरीका अनुसार रंगरोकन बाहेक नै दमकलको पुरै मर्मत गर्न अझै ४/५ दिन समय लाग्छ ।
दमकल बिग्रिए पछि प्रक्रिया पुरा गरेर मर्मतका लागि पठाएको नगरका बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले बताउनु भयो । वस्तीले भन्नुभयो, ‘मर्मत प्रक्रिया नै लामो छ त्यसैले केही दिन लाग्यो ।’
माघ २ गते आगलागी नियन्त्रणका लागि इलामको श्रीअन्तु जानेक्रममा साँघुरो बाटोका कारण दमकल पहाडको भित्तामा ठोकिएर दुर्घट्ना भएको थियो । दुर्घटनाका कारण पछाडीको भागमा क्षती पुगेको र दमकलको पानी तान्ने प्रविधि नै क्षतीग्रस्त भएको थियो ।
दमकलका लागि पर्याप्त जनशक्ति नै छैन
मेचीनगर नगरपालिकाको दमकलमा आवश्यक जनशक्ति नै नभएको स्वयम दमकल कर्मचारीहरुले गुनासो गरेका छन । ‘शुरुमा दमकलका लागि भनेर १२ जना कर्मचारी थिए तर अहिले दमकलमा काम गर्ने जम्मा ७ जना मात्रै छौं,’ दमकलमा काम गर्ने एक कर्मचारीले सेतोपत्रसंग भन्नुभयो ।
विभिन्न कारणले दमकलमा काम गर्ने कर्मचारी घट्दै गए पनि पदपुर्ति नगरेको समेत कर्मचारीहरुले गुनासो गरेका छन । दमकलका कर्मचारी घटे पछि नयाँ थप्नुको साटो नगरपालिकाले चालक दरबन्दीमा काम गरिरहेकाहरुलाई नै दमकलको काम गर्न लगाएको छ । मेचीनगरको दमकलमा अहिले काम गर्ने ७ जनामध्ये ५ जना त चालकहरु नै छन ।
मेचीनगरको दमकल समयमा मर्मत नगरेका कारण माघ २० गते काकरभिट्टास्थीत एस एस फुटवेयरमा भएको आगलागी नियन्त्रणका लागि करीब दुई घण्टा पछि मात्रै दमकल पुगेको थियो । नेपालका १७ वटा र भारतका २ वटा गरी १९ वटा दमकलको सहयोगमा करीब ६ घण्टा पछि आगलागी नियन्त्रण लिएको थियो । एस एस फुटवेयर उद्योगमा भएको आगलागीका कारण करीब ९ करोड ५० लाख रुपैया बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिनु भयो ।