झापा, माघ २१ । झापाको काकरभिट्टाको जुत्ता उद्योगमा आज भएको आगलागी नियन्त्रण गर्ने क्रममा मेचीनगर नगरपालिकाको दमकलले सेवा दिन नसकेका कारण बढी क्षती भएको स्थानीयहरुले बताएका छन ।
दिउँसो करीब ११ बजेतिर काकरभिट्टास्थीत बर्मेली टोलमा रहेको एस एस फुटवेयरमा लागेको आगलागी नियन्त्रण गर्न तत्काल दमकल आइनपुगेका कारण ठुलो क्षती भएको स्थानीयहरुले बताएका हुन । मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्कीएको एक महिना भन्दा बढी भइसकेको र अन्य स्थानीय तहमा खबर गरेर दमकल आइपुग्दा आगलागीले बिकराल रुप लिइसकेको काकरभिट्टाका स्थानीय तथा मेची उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विजय डालमियाले बताउनु भयो ।
‘आगलागी सुरु भएर खबर गरेको झण्डै दुई घण्टासम्म पनि कुनै दमकल आइपुगेन,’ डालमियाले भन्नुभयो, ‘नजीकको दमकल भनेको मेचीनगरकै थियो, तर त्यो बिग्रेर थन्केको धेरै भयो त्यसैले आजको आगलागीले ठुलो रुप लियो ।’
मेचीनगर नगरपालिकाले दमकल मर्मतमा गभ्भिर भएर बेलैमा दमकल तयारी अवस्थामा राखेको भए आजको आगलागीबाट सामान्य क्षती मात्रै हुने काकरभिट्टाका एक स्थानीयले बताउनु भयो । वहाँले भन्नुभयो, ‘आगलागी सुरु हुने बित्तिकै दमकलले पानी हाल्न पाएको भए तुरुन्तै आगो निभिहाल्थ्यो ।’
भिषण आगलागी भएर लामो समयसम्म पनि दमकल आइनपुगेका कारण स्थानीयहरुले मेचीनगरका जनप्रतिनिधिहरु प्रति आक्रोस पोखेका थिए । ‘आगलागी स्थलमा भेटिनु भएका एक स्थानीयले भन्नुभयो, ‘बिग्रिएको दमकल नबनाउने नगरपालिकका प्रतिनिधिहरु कै कारण आगलागीले ठुलो क्षती भयो ।’
झापाका १० वटा पालिकाका दमकल, प्रदेश सरकार सहित मोरङका ६ वटा दमकल, इलामको एउटा र भारतका समेत दुई वटा दमकल सहित नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा करीब ६ घण्टा पछि मात्रै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीका कारण श्याम खेतानले सञ्चालन गरेको उद्योगको गोदाम घर पूर्ण रुपमा क्षती भएको छ भने तयारी अवस्थाका उद्योगको उत्पादन र कच्चा पदार्थ पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीका कारण भएको क्षतीको यकिन विवरण भने आइसेको छैन ।
मेचीनगरमा लगातार आगलागीका घट्ना भइरहे पनि नगरपालिकाको दमकल भने एक महिना भन्दा बढी समयदेखि बिग्रिएर थन्किएको छ । दमकल बिग्रिएर लामो समयसम्म मर्मत गर्न नै नगरपालिकाले तदारुकता नदेखाएका कारण अहिलेसम्म दमकल सञ्चालनमा आउन सकेको छैन ।
आफ्नै घर नजिक आगलागी हुँदा पनि नगरप्रमुख र उपप्रमुख देखिएनन
काकरभिट्टामा आज भएको भिषण आगलागी नियन्त्रण गर्न स्थानीयहरु सहयोगी भुमिकामा देखिएकाता पनि मेचीनगरका नगरप्रमुख र उपप्रमुख भने आगलागीस्थलमा देखिएनन । नगरका प्रमुख र उपप्रमुख दुवै जना काकरभिट्टाकै स्थानीय भए पनि करीब ६ घण्टा पछि मात्रै नियन्त्रणमा आएको आगलागीस्थलमा वहाँहरुको उपस्थिति देखिएन ।
भारतबाट समेत दमकल आएर आगलागी नियन्त्रण गर्न सहयोग गरेको र जिल्लाका विभिन्न पालिका र जिल्ला बाहिरका पालिकाहरुले समेत आगलागी नियन्त्रण गर्न दमकल पठाएर सहयोग गरिरहेका थिए तर उनीहरुको हौसला बढाउन र सहयोगका लागि धन्यबाद दिन समेत नगरका प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीले आगलागीस्थलमा उपस्थित हुन जरुरी सम्झिनु भएन ।
यस अघि मेचीनगर ७ इटाभट्टामा भएको आगलागीमा पनि दमकल ढिलो आएका कारण एक जना ब्यक्तिको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।