धुलाबारी, माघ १८ । गोर्खा मेमोरियल फाउण्डेशनले झापाको धुलाबारी माविमा सुविधा सम्पन्न कम्प्युटर ल्याब बनाइदिने भएको छ । गोर्खा फाउण्डेशन बेलायतका अध्यक्ष धन किरण गुरुङले आज एक कार्यक्रमका बिच धुलाबारी माविमा कम्प्युटर शिक्षा अध्ययन गरिरहेका बिद्यार्थीहरुका लागि सहयोग गर्ने उद्देश्यले अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गर्ने घोषणा गर्नु भएको हो ।
धुलाबारी माविका पुर्व बिद्यार्थी समेत रहनु भएका बेलायतको फोक्सटन सिटिका पुर्व काउन्सिलर गुरुङलाई विद्यालयको तर्फबाट स्वागत तथा सम्मान गर्ने कार्यक्रमका बिच वहाँले यस्तो प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
‘आफुले पढेको विद्यालयमा केही सहयोग गर्ने योजना बनाएको छु,’ सेतोपत्रसंग कुरागर्दै गुरुङले भन्नुभयो, ‘कम्प्युटर शिक्षा अध्ययनका विद्यार्थी धेरै भएकाले ३१ वटा कम्प्युटर सहितको सुविधासम्पन्न ल्याब बनाउँछौं ।’ वहाँका अनुसार सन २०२४ देखि शुरु हुने यो परियोजनाको पहिलो काम धुलाबारी माविमा नै हुनेछ ।
धुलाबारी मावि ब्यवस्थापन समितिका अध्यक्ष गणेश विक्रम नेम्वाङको सभापतित्वमा भएको कार्यक्रमका विच पुर्व काउन्सिलर गुरुङले धुलाबारी माविमा अध्ययन गर्ने गरीब तथा बिपन्न विद्यार्थीहरुका लागि विद्यालयको पुस्तक किन्न ५० हजार नगद विद्यालयलाई उपलब्ध गराउने बताउनु भयो । ‘हामी स्कुल पढ्दा नयाँ किताब किन्न सकिदैंन थियो,’ वहाँले भन्नुभयो, ‘अघिल्लो कक्षाका दाजु दिदिहरुले पढेको किताब पढ्नु पर्थ्यो । त्यसैले आफुले जस्तै पुरानो किताब पढ्नु नपरोस भनेर त्यस्ता विद्यार्थीका लागि म ५० हजार दिन्छु ।’
कार्यक्रममा धुलाबारी माविका विद्यालय व्यवस्थापन समितिका सदस्य ऋषिराज तिम्सिना र पुर्व बिद्यार्थी समाजका अध्यक्ष गोपाल बस्नेतले शुभकामना मन्तब्य राख्नु भएको थियो । धुलाबारी माविका प्रधानअध्यापक महेन्द्र विलाश लुईटेलले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम सहायक प्रधानअध्यापक तेजप्रसाद चौलागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।