हालै दूधको उत्पादन लागत बढी भएकोले दूधको खरिद तथा बिक्री मूल्य बढाइनु पर्छ, भनि व्यापक छलफल सुरु भएको छ । दूध उत्पादक कृषक तथा सम्बन्धित डेरी उद्योगहरूले दूधको मूल्य प्रति लिटर रु १० देखि १६ सम्म वृद्धि गर्न दवाव दिइरहेका छन ।
यसै सन्दर्भमा हालै कृषि तथा पशुपन्छी मन्त्री महिन्द्रराय यादवले राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोना भएको कार्यक्रममा दूध उत्पादन र बजारीकरणको अवस्थाको अध्ययन गरेर किसान र उपभोक्ताहरूमा आर्थिक भार नपर्ने गरी मूल्य वृद्धि गर्ने नगर्ने निर्णय गरिने जानकारी गराउनु भएको छ । तर विगतका अध्ययन र प्रतिवेदनको आधारमा अब गरिने अध्ययनले दुग्धक्षेत्रको बजार प्रतिस्पर्धी र दीगो विकास हुनेमा धेरै आशावादी हुनुपर्ने ठाउँ छैन ।
कृषि प्रधान देश नेपालमा बहुसङख्यक परिवारको आयआर्जनको प्रमुख श्रोत नै पशुपालन हो । नेपालका ३८ लाख कृषक परिवारहरू मध्ये धेरैले पशुपालन व्यवसाय अपनाएका छन । हालका दिनहरूमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू र उच्च व्यापारिक घरानाहरू पनि आधुनिक पशुपालन व्यवसाय तर्फ आकर्शित हुँदै गएका छन ।
राष्ट्रिय अर्थतन्त्रमा पशुपालनले १२ प्रतिशत र द«ग्धक्षेत्रले मात्र ९ प्रतिशत योगदान दिने गरेको छ । नेपालमा पालिने विभिन्न पाल्तु पशुहरू मध्ये गाई ७३ लाख र भैसी ५३ लाख रहेको अनुमान छ । जसमा करिब २५ लाख दुहनी अवस्थाका गाईभैंसीहरू छन । जसबाट वर्षेनी २३ लाख टन दूध उत्पादन हुन्छ । दूध उत्पादनमा ६५ प्रतिशत हिस्सा भैंसीको दूधले ओगटेको छ । दुग्ध उत्पादन तथा बजारीकरण व्यवसायमा करिब पाँच लाख परिवारहरू सङलग्न रहेका छन । त्यस्तै व्यावसायिक गाईभैसीं पालनमा करिब तीन हजार सरकारी र नीजि फर्महरू सञ्चालनमा छन ।
दुग्ध क्षेत्रको विकासको थालनी सन १९५२ मा रसुवामा चीज फ्याक्ट्रीको स्थापना पछि भएको थियो । हाल देशमा दुग्ध विकास संस्थान लगायत नीजि तथा सहकारी साना ठूला २०० दुग्धजन्य उद्योगहरू सञ्चालनमा छन । करिब १७०० दुग्ध सहकारीहरूले कृषक तथा फार्मबाट सङ्कलन गरी डिडिसी तथा अन्य डेरी उद्योगहरूलाई दुध बिक्री गर्दछन । यी डेरी उद्योगहरूमा कुल दूध उत्पादनको करिब २० प्रतिशत प्रशोधन भई उपभोक्तासम्म पुग्छ भनें करिब ३० प्रतिशत दूध कृषक तथा पैकारहरू मार्फत ताजा वा अर्धप्रशोधित अवस्थामा चिया, मीठाईपसलहरू मार्फत उपभोक्ता सम्म पुग्ने गर्दछ । बाँकि दूध घर परिवारमानै खपत हुने अनुमान छ ।
दूधको खपत हाल औसत ७२ लिटर प्रति व्यक्ति रहेको छ जबकि आधारभूत आवश्यकता प्रतिव्यक्ति प्रति वर्ष ९२ लिटर रहेको छ । नेपाल हालै अल्पविकसित देशबाट विकाशसील राष्ट्रमा स्तरोन्नती हुन लागेको छ यसका लागि पनि दूधको उत्पादन र खपत बढाउन आवश्यक रहेको छ ।
दुग्ध क्षेत्रको मुख्य चुनौती उत्पादनशील दुधालु गाईभैंसीको अभाव र उच्च उत्पादन लागत हो । नेपालमा बढी दूध दिने उच्च नश्लका दुधालु गाईभैंसीहरूको सङख्या केवल ४ प्रतिशत मात्र रहेको र उत्पादन लागत बढी भएकोले दुग्ध उत्पादन व्यवसाय बजार प्रतिस्तर्धी, मुनाफामुलक तथा दीगो बन्न सकेको छैन ।
नेपालमा स्थानीय गाईले औसतमा ४५० लिटर र भैंसीले ८५० लिटर र उन्नत र क्रस गाई वा भैंसीले प्रति बेत १६०० लिटर दूध दिन्छन । विदेशमा उच्च नश्लको गाईले औसत ४००० लिटर र भैंसीले २५०० लिटर प्रति बेत दूध दिन्छ ।
उत्पादन लागत बढनुको मुख्य कारण पशु आहारामा हुने खर्च हो । गाईभैंसीको आहारामा कूल लागतको करिब ६५–७० प्रतिशत सम्म खर्च हुने गर्दछ र वाँकि अन्य खर्चहरू जस्तै ज्यामी ज्याला, औषधी उपचार, बिजुली पानी, औजार व्यवस्थापन आदि हुन ।
पशुहरूको उत्पादकत्व र शारीरिक वृद्धिमा ह्रास नआउने गरी आहारामा हुने खर्चमा जति बचत गर्न सकियो त्यति नै उत्पादन लागत घटाउन सकिन्छ र व्यवसायबाट मुनाफा लिन सकिन्छ ।
नेपालमा व्यावसायिक दुग्ध उत्पादनका लागि गाईभैसी पालन विशेषतः पराल र दानामा आधारित रहेको छ । जसले गर्दा आहारामा लाग्ने खर्च अत्याधिक रहेको पाइन्छ भनें पशुहरूको शारीरिक अवस्था र उत्पादन क्षमता तथा दूधको गुणस्तरमा पनि प्रतिकुल प्रभाव पार्छ ।
गाईभैंसीहरूलाई पनि महँगो दानाको साटो कोसे घाँसबाली खान दिएर उत्पादन लागत घटाउन सकिन्छ । जसरी पौष्टिकताको दृष्टिकोणले खसीको मासु र भटमास उस्तै उस्तै भएतापनि मूल्यमा आकास जमिनको फरक हुन्छ त्यस्तै कोसे घाँसबाली र दानाको मूल्यमा धेरै अन्तर पाइन्छ । अर्को तर्फ दाना बनाउन प्रयोग हुने सामग्रीहरू आयात गरिनु पर्ने भएकोले वैदेशिक मुद्राको सञ्चीतीमा पनि प्रभाव पार्छ ।
अहिलेको अवस्थामा परालको मूल्य प्रति किलो २२–२५ र दाना रु ५० प्रति किलो भन्दा बढी पर्दछ । एक उन्नत नश्लको दुधालु गाई वा भैंसीले दिनमा औसत ७ किलो पराल र ५ किलो दाना खान्छ । यसको अलावा केही हरियो घाँस, नुन आदिको खर्च जोडदा प्रति किलो दूध उत्पादनमा लाग्ने आहारा खर्च नै रु ४० भन्दा बढी पर्न जान्छ । राष्ट्रिय दुग्ध विकास बोर्डको अध्ययनले पनि प्रति लिटर दूधको कुल उत्पादन लागत रु ४५ देखि ६७ सम्म देखाएको छ ।
धेरै जसो दुग्ध सहकारीहरूले दूधमा भएको फ्याट प्रतिशतको आधारमा किसानलाई प्रति लिटर रु ४५–५० दिन्छन । तर खुला बजारमा दूधको मूल्य हाराहारी सय रुपैयाँ प्रति लिटर बिक्री गरिन्छ । सरकारी, सहकारी र नीजि खरिद र बिक्रेताको आधारमा दूधको मूल्य केही फरक फरक हुनसक्छ ।
हालको अवस्थामा साना तथा गाउँले कृषकहरूले घरखेतमा उत्पादन भएको र प्राकृतिक घाँसपात, आहारा तथा आफ्नो ज्यामीज्यालाको खर्च नजोडने भएकोले दूध उत्पादन व्यवसाय चलिरहेको छ । त्यस्तै व्यावसायिक पशुफार्महरूले उत्पादित दूध बजारमा औसत रु सय प्रति लिटर बिक्री गरेर व्यवसाय धानी आएका छन ।
यस सन्दर्भमा हाम्रो देशको सीमा जोडिएका देश भारत र चीनमा दूधको बजार मूल्य तुलना गर्नु आवश्यक हुन्छ । चीनमा दूधको मूल्य नेपाल तथा अन्य छिमेकी देशको दाँजोमा अत्यधिक बढी भएकोले नेपालमा चीनबाट दूध आउने सम्भावना छैन बरु नेपालले अनुकूल अवस्था पाएमा दूध निकासी गर्ने प्रशस्त सम्भावना रहेको छ । तर भारतको विहारमा दूधको किसानले बिक्री गर्ने मूल्य भारु २१ अर्थात रु ३३।६० र यसको अलावा भारतीय पशूपालकहरूका लागि त्यहाँको सरकारले विभिन्न सुविधाहरू उपलब्ध गराउँछ । अहिले पनि सीमा नाकाका बजारहरूमा भारतीय दूधको हालीमुहाली छ ।
दूध उत्पादन लागत र दूधको बजार मूल्यको तुलना गर्दा दूध उत्पादन व्यवसाय सरासरी घाटाको व्यवसाय हो । त्यसैले दूधको मूल्य बढाउनका लागि कृषकहरू आवाज उठाई रहेका छन । यदि यी सुझावलाई अपनाएर दूधको मूल्य वृद्धि गरेमा देशलाई परनिर्भर बनाई दुग्ध उत्पादन व्यवसायमा आश्रित परिवारहरूको उठीवास लगाउनु मात्र हुनेछ । यदि सही तरिकाले दुधालु पशुहरूको आहारा व्यवस्थापन गर्न सकेमा पशुहरूको दूध उत्पादन नघटाइकन आहारा खर्च आधा घटाउन सकिन्छ ।
गाईभैंसीहरू उग्य्राउने पशुहुन । यिनीहरूको प्राकृतिक आहारा नै हरियो घाँसपात हो । हरियो घाँसमा शारीरिक वृद्धि तथा उत्पादनका लागि चाहिने सबै पोषकतत्व पाइन्छ । तर हामीहरू सजिलै उपलब्ध हुने पराल, दाना र कृत्रिम रसायनहरू खुआएर दूध लिन्छौ जुन महँगो, अप्राकृतिक, कम गुणस्तरको र अस्वथ्यकर हुन्छ ।
नेपालमा तराई देखि उच्च पहाडसम्ममा विभिन्न जातका पोषिला घाँसहरू लगाउन र बारै महिना हरियो घाँसको उत्पादन लिन सकिन्छ । भीर पाखा, डाँडाकाँडाहरूमा खनजोत नगरिकनै पनि उन्नत जातका पोषिला बहुबर्षिय घाँसहरू लगाउन सकिन्छ । तर विडम्बना के छ भनें काठमाडौं, पोखरा तथा अन्य पहाडी क्षेत्र जहाँ पराल उत्पादन हुन्न त्यहाँ पनि तराईबाट ढुवानी पराल लगिन्छ , जबकि परालमा कुनै पोषकतत्व पाइन्न, यसले पशुको पेट भर्ने काम मात्र गर्छ ।
कोसे घाँसबालीमा आधारित दूध उत्पादन व्यवसाय अपनाएर उत्पादन लागत धेरै हदसम्म घटाउन सकिन्छ । उदाहरणका लागि गाईभैंसीलाई खुआएने एक किलो दानामा पाइने पोषकतत्व भन्दा बढी पाँच किलो हरियो कोसे घाँसमा पाइन्छ । दाना र घाँसको परल मूल्यको तुलना गर्दा एक कीलो दानाको रु ५० भन्दा बढी पर्छ भने पाँच किलो हरियो घाँसको मूल्य बढीमा रु १५–२० सम्म पर्ने गर्दछ ।
विश्वका धेरै मुलुकहरूमा चरिचरनमा आधारित घाँसमात्र खुआएर मात्र औसत प्रति बेत ४००० लिटर भन्दा बढी दूध लिने गर्दछन, उदाहरणका लागि न्यूजिल्याण्ड ।
नेपालमा पनि गाईभैंसीहरूलाई महँगो दानाको साटो कोसे र अकोसे हरियो घाँस मिसाएर दैनिक रूपमा ५० किलो हरियो घाँस र ३ किलो पराल खान दिएमा दैनिक दस लिटर दूध दिने उन्नत होल्सटन गाई वा मुर्रा भैंसीलाई चाहिने पोषणको आपुर्ती गर्न सकिन्छ । यसरी दानाको साटो हरियो घाँस खुआउनाले आहारा खर्च आधाभन्दा कम लाग्ने सम्पूर्ण पोषणतत्वहरूको आपुर्ती हुन गई रोगव्याधी पनि कम लाग्छ । घाँस खाएका गाईभैंसीको दूध शुद्ध, प्राकृतिक तथा स्वथ्यकर हुन्छ । यसरी प्रति दुधालु गाई वा र्भैसीका लागि अनिवार्य रूपमा ५०० वर्ग मिटर जग्गामा वर्षे, हिउँदे, बहुवर्षे घाँसहरू लगाएर वर्षभरी हरियो घाँस खुआएर दूध उत्पादन गरेमा दूध उत्पादन लागत हालको मूल्य भन्दा आधामा झार्न सकिन्छ ।
अल्पकालिन राहतका लागि दूधको मूल्य वृद्धि गरेमा देशलाई परनिर्भर बनाउनु र फस्टाउन लागेको दुग्धजन्य उद्योग लाई धाराशायी बनाउनु मात्र हुनेछ । यसैले अहिलेको अवस्थामा दूधको मूल्य वृद्धि गर्नु भनेको उपभोक्ताहरूलाई दूधको खपत कम गर, छिमेकी देशबाट तरल दूध र दुग्धजन्य पदार्थहरूको आयात गरेर देशलाई परनिर्भर बनाई दुग्ध उत्पादन व्यवसायमा आश्रित परिवारहरूको उठीवास लगाउनु मात्र हो ।
आजको स्वास्थ्यप्रति सचेत, कृत्रिम रसायन रहित प्राकृतिक भोजन प्रति आशक्त जनसागरको चाहना पूरा गर्न पनि हरियो घाँसमा आधारित दूध उत्पादन व्यवसायलाई केन्द्र र प्रादेशिक सरकार र दातृनिकायहरूको पनि ध्यान जानु अति आवश्यक भएको छ । त्यसर्थ, उचित अहारा व्यवस्थापन गरी गाईभैंसीहरूको स्वास्थ्य र उत्पादन क्षमताको वृद्धिका लागि किफायती हरियो पोसिलो घाँसमा आधारित पशुपालन गरेर देशलाई दूधको क्षेत्रमा आत्मनिर्भर बनाउनुका साथै निकासी जन्य उद्योगको रूपमा विकास गर्रौं ।