इटाभट्टा, भदौ २८ ।
कानून बमोजिम पाउने भन्दा बढी ग्रेड बापतको रकम खाएको भन्दै बढी भएको रकम फिर्ता गर्न मेचीनगर नगरपालिकाले आफ्नो लेखा अधिकृत पदम बहादुर कार्कीलाइ पत्र काटेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङले हस्ताक्षर गरेको पत्रमा लेखा अधिकृत कार्कीले खाँदै आएको ग्रेड कानून बमोजिम बढी देखिएकाले उक्त ग्रेड बापतको बढी हुन गएको रकम नगरपालिकामा दाखिला गर्न भनेको छ ।
निजामति कर्मचारी समायोजन ऐन २०७५ अन्तर्गत अधिकृत स्तर आठौंमा पदस्थापन हुनु भएका लेखा अधिकृत कार्कीले अहिले खाँदै आएको ग्रेड कानून बमोजिम नदेखिएकाले उक्त रकम फिर्ता गर्न भनेको मेचीनगरका प्रमुख प्रशासकिय अधिकृत खाम्याहाङले बताउनु भयो । खाम्याहाङले भन्नु भयो,‘मैले पढेको कानून अनुसार वहाँले खाएको ग्रेड बढी देखियो त्यसैले बढी भएको ग्रेडको रकम दाखिला गर्न भनिएको हो ।’
यस बिषयमा लेखा अधिकृत कार्कीसंग कुरा गर्दा आफुले खाएको ग्रेड र तलब पुर्णरुपमा कानूनसम्मत भएको बताउनु भयो । कार्कीले भन्नु भयो,‘म अधिकृतस्तर आठौंमा बढुवा भएको होइन समायोजन ऐन बमोजिम सोही तहमा समायोजन मात्र भएको हो त्यसैले मैले साबिक देखि खाइपाई आएको तलब र ग्रेडको निरन्तरता मात्रै हो ।’
साबिकदेखि खाइपाइ आएको सेवा सुविधा कहिले नघट्ने हुनाले पनि आफुले खाएको ग्रेड कानुन बमोजिम भएको लेखा अधिकृत कार्कीले बताउनु भयो । आफु जस्तै समायोजन भएका अन्य कार्यालयका आफु समान कर्मचारीको तलब र ग्रेड पनि आफुले अध्ययन गरेकाले कानून सम्मत भएको कार्कीको जिकिर छ ।
मेचीनगरमा लेखा अधिकृत सहित ४ जना कर्मचारीको ग्रेडको बिषयमा आन्तरिक बिवाद केही दिनदेखि चलिरहेको नगरपालिकास्रोतले बताएको छ ।
प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत बिच ग्रेडको बिषयमा बिवाद हुँदा नगरपालिकाका कर्मचारीको दुई महिनादेखि तलब भुक्तानी समेत रोकिएको छ ।
हेर्नुृहोस नगरपालिकाले लेखा अधिकृत कार्कीलाई काटेको पत्र र कार्कीको जवाफ समेत ।