झापा, माघ ६ । कोरोना संक्रमण तीब्र रुपमा फैलिए पछि जिल्ला प्रसासन कार्यालय झापाले आज मध्येराति देखि लागु हुने गरी नयाँ आदेश सार्वजनिक गरेको छ । झापामा अब कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्त सम्म रोक लगाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गर्नु भएको आदेशमा भनिएको छ, ‘सबैप्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ माघ मसान्तसम्म सञ्चालन नगर्ने ।’
आदेश अनुसार गोष्ठी सेमिनार तथा बैठकहरु गर्नु पर्ने भए भर्चुअल माध्यममा मात्रै गर्नु पर्नेछ । त्यस्तै सिनेमा घर, डान्सबार, हेल्थ क्लब, जिम खाना, फुटसल, हाटबजार जस्ता धेरै मानिस भेला हुने कार्य माघ मसान्तसम्मका लागि सञ्चालन गर्न पाइने छैन ।
विवाह, ब्रतबन्ध, पुराण, गुन्युचोली, पास्नी जस्ता सामाजिक कार्य गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको पुर्व स्वीकृति लिएर २५ जना भन्दा बढी मानिस भेला नहुने गरी स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्रै आयोजना गर्न पाइने आदेशमा भनिएको छ ।