झापा, माघ ३ । कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि सरकारले पुस २६ गते २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय गर्यो । त्यस लगत्तै जिल्ला स्थीत विपद व्यवस्थापन समितिको बैठक बसी सरकारको निर्णय कार्यान्वयन गर्ने निर्णय गर्दै स्थानीय पालिकाहरुलाई सोही अनुसारको पत्राचार गर्यो ।
नेपालको पुर्वी प्रवेशद्वार काकरभिट्टामा पनि भारततर्फबाट नेपाल भित्रिने सबैलाई कडाइका साथ स्थास्थ्य परीक्षण गर्न थालियो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर उच्च रहेको विज्ञहरुले भनिरहेका बेला चौतर्फि सर्तकता अपनाउन थालियो ।
मेचीनगर नगरपालिकाले समेत पुस २८ गते कोभिड नियन्त्रण समितिको बैठक बोलाएर सरकारी निर्णय पूर्ण कार्यान्वयन गर्ने र कोभिड नियन्त्रणका लागि नगरपालिका संयन्त्र परिचालन गर्ने निर्णय गरियो ।
तर कोभिड नियन्त्रणका लागि सरकारी निर्णयसंगै आफैंले पनि विभिन्न निर्णय गरेको पुर्वी सिमानाको नगरपालिका मेचीनगर नगरपालिकाका प्रमुख र उपप्रमुख भने दैनिक जसो भिडभाड गराउने कार्यक्रममा आफैं सहभागि भएर सरकारी निर्णयको धज्जी उडाउँदैछन ।
नगरपालिकाले कोभिड नियन्त्रण समितिको बैठक गरेर विभिन्न निर्णय गरेको भोलिपल्ट अर्थात पुस २९ गते नगरमा दुई वटा भिडाभाड हुने कार्यक्रम सम्पन्न भए । मेचीनगर ११ स्थीत कालिका सामुदायिक वन उपभोक्ता समितिको साधारण सभा उदघाटन सम्पन्न भयो । करीब १५० जना भेला भएको उक्त साधारण सभाको प्रमुख अतिथि हुनुहुन्थ्यो मेचीनगर प्रमुख विमल आचार्य । त्यस्तै सोही दिन धुलाबारीमा मेचीनगर लेडि जसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । १५० भन्दा बढी मानिसको भेला भएको उक्त कार्यक्रमको विशिष्ट अतिथिमा हुनुहुन्थ्यो मेचीनगर उपप्रमुख मिना उप्रेती ।
त्यस्तै पुस ३० गते काकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको साधारण सभा सम्पन्न भयो । दुई सय भन्दा बढी मानिस भेला भएको उक्त साधारण सभाको प्रमुख अतिथि र विशिष्ट अतिथिका रुपमा नगरप्रमुख र उपप्रमुख नै सहभागि हुनुहुन्थ्यो । त्यति मात्रै होईन मेचीनगरका प्रमुख र उप्रमुखलाई मान्छे भेला हुने सबै खाले कार्यक्रममा जसरी भए पनि उपस्थिति हुने विगत देखि कै बानी परेको छ ।
पुस ३० गते नै धुलाबारी जेसीजको पद हस्तान्तरण समारोह पनि सम्पन्न भएको छ । उक्त कार्यक्रममा नगरप्रमुख र उपप्रमुखको उपस्थिति नभए पनि एक सय भन्दा बढी मानिसको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य मापदण्डको पालना गरिएको थिएन ।
आफुले के निर्णय गरें, सरकारी निर्णय के छ, आफु कुन जिम्मेवारीमा छु भन्ने समेत हेक्का नराखि मेचीनगरका प्रमुख र उपप्रमुख आफ्नै र केन्द्र तथा प्रदेश सरकारको निर्णयको धज्जी उडाउँदै कोरोना संक्रमण नियन्त्रणको स्वास्थ्य मापदण्ड भन्दा भन्दा बाहिर गएर ठुलठुला भेला र समारोह आयोजना गर्न छुट दिने र सहभागि हुने काममा लागेको खुल्लम खुल्ला देख्न सकिन्छ ।
कोरोना नियन्त्रणको मुख्य उपाय भनेकै भिडभाड नगर्नु र त्यसको पूर्ण कार्यान्वयन नै हो भन्ने पुष्टि भइसकेको छ । तर पनि मेचीनगरका नगरप्रमुख र उपप्रमुख त्यस बिरुद्ध गएको नगरबासीहरुले बताउँन थालेका छन ।
सरकारी निर्णय कार्यान्वयनमा सक्रियता देखाउनु पर्ने जिम्मेवारीमा रहेका नगरप्रमुख र उपप्रमुख नै त्यस बिरुद्ध लागे पछि कोरोना नियन्त्रणको बिषय असहज हुँदै गएको छ ।