मेचीनगर, माघ १ । झापा मेचीनगर ८ बिरेन्द्रस्मृति नगर टोलका १७ बर्षीय नविन फुयललाई बचाउन स्थानीयहरुले अभियान सूरु गरेका छन । मेरुदण्डको क्यान्सर प्रमाणित भए पछि उपचार गराईरहनु भएका फुयलको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार खर्च जुटाउने उद्दश्यले छरछिमेकीहरुले नै नविन फुयल बचाउ अभियान सञ्चालन गरेका हुन ।
स्थानीय उदय भण्डारीको संयोजकत्वमा गठन भएको नविन फुयल बचाउन अभियानले आजैदेखि रकम संकलन समेत सूरु गरेको अभियानका सचिव रिजेस प्रधानले बताउनु भयो । अभियानका तर्फबाट बिरामी फुयलकै घरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भण्डारीले बिरामीको उपचार भारतको दिल्लीस्थीत राजिव गान्धी क्यान्सर अस्पतालमा भइरहेको बताउनु भयो ।
उपचार गर्दा पूर्ण रुपमा बिरामी ठिक हुने र त्यसका लागि ८ महिनाको समय लाग्ने र करीब ३० लाख नेपाली रुपैया खर्च हुने नविनकी आमा सुमित्रा फुयलले पत्रकार सम्मेलनमा बताउनु भयो । आमा सुमित्राले आफ्नो एक्लो छोरो नविनलाई बचाइदिन सबैलाई आग्रह गर्नु भएको छ ।
मेचीनगर ८ स्थीत आदर्श माविमा कक्षा १२ मा अध्ययरत बिद्यार्थी नविन पढाईमा अब्बल रहेको र पढाईका साथसाथै कथा, कविता लगायतका साहित्यिक गतिविधिमा समेत सक्रिय भएको संयोजक भण्डारीले बताउनु भयो । नविनको उपचार खर्च जुटाउन सहयोगी दाताहरुलाई आग्रह गर्दै भण्डारीले भन्नुभयो, एउटा प्रतिभाशाली युवकको जीवन बचाउन सबैले सकेको आर्थिक सहयोग गरिदिनु होला । भण्डारीका अनुसार इटाभट्टा स्थीत प्राइम बैंकमा उपचार कोषको खाता समेत खोलिएको छ । संयोजक उदयकुमार भण्डारी, सचिब रिजेस प्रधान र नविनकी आमा सुमित्रा फुयलको संयुक्त हस्ताक्षरमा सञ्चालन हुने गरी प्राईम बैंक इटाभट्टामा खाता नंं १०७००३४९ एस ए खाता सञ्चालन गरिएको र उक्त खातामा रकम जम्मा गरिदिएर नविनको जीवन रक्षाका लागि सहयोग गरिदिन हुन बचाउ समितिले सबैमा आग्रह गरेको छ ।
सिटि रिक्सा चलाएर परिवार चलाइरहनु भएका नविनका बुवा छोरा बिरामी भए पछि त्यही सिटि रिक्सा नै बेचेर छोराको उपचारका लागि दिल्ली अस्पतालमा छोराको सहयोगीका रुपमा बस्नु भएको छ ।
शुरुमा ढाड दुखाई भए पछि स्थानीय अस्पतालहरुमा उपचार गराउँदा बिरामी पत्ता नलागे पछि काठमाण्डौको बिएण्डबी अस्पतालमा एमआरआई गराँउदा मेरुदण्डको छेउमा मासु पलाएको देखिए पछि चिकित्सकको सल्लाहा अनुसार नै क्यान्सर भए नभएको पत्ता लगाउन दिल्ली लगिएको थियो । पुस २४ गते दिल्ली पुगेका नविनको त्यहाँ क्यान्सर भएको पुष्टि भएको थियो ।