काकरभिट्टा, पुस ३० । काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाले पानीको बैकल्पिक स्रोतको खोजी गर्नु पर्ने अवस्था आएको छ । काकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको आज सम्पन्न २६ औं साधारण सभामा अध्यक्ष राजकुमार पराजुलीले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा संस्थाको क्षमता भन्दा बढी पानीको मागलाई सम्बोधन गर्नु पर्ने भएका कारण संस्थाको मुख्य चुनौतिका रुपमा पानीको बैकल्पिक स्रोतको खोजी गर्नु पर्ने उल्लेख गरिएको छ ।
अध्यक्ष पराजुलीको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि मेचीनगरका प्रमुख बिमल आचार्यले नगरका सबै खानेपानी संस्थाहरुलाई खानेपानी प्राधिकरणमार्फत सञ्चालन तथा नियमन गर्ने गरी नगरपालिकाले छिट्टै खानेपानी प्राधिकरण गठन गर्न लागेको बताउनु भयो ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मिना उप्रेती, साना सहरी खानेपानी कार्यान्वयन आयोजना कार्यालयलका प्रमुख चोकप्रसाद धिताल, नेपाली काँग्रेस मेचीनगर सभापति सुवेशकुमार पनेरु, माओबादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया, राप्रपा मेचीनगर अध्यक्ष सविना बजगाई, जनता समाजबादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, नेकपा एकिकृत समाजबादी मेचीनगर सचिब हरि तिम्सिना, संस्थाका निवर्तमान अध्यक्ष हर्क फ्याक, सम्मानित ब्यक्तित्वहरु डिल्लीराम घिमिरे, गोपाल तामाङ र अनिल संग्रौलाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
साधारणको उदघाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख आचार्य सहित अन्य अतिथिहरु ।
संस्थालाई महत्वपूर्ण योगदान गरे बापत तत्कालिन काकरभिट्टा गाविसका अध्यक्ष घिमिरे, संस्थाका पुर्व अध्यक्ष तामाङ र संस्थाका लागि जग्गा दान गर्ने संग्रौलालाई साधारण सभाको अवसरमा सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।
साधारण सभाकै अवसरमा सेवा निबृत्त हुनु भएका संस्था कर्मचारी जीवननाथ काफ्लेलाई बिदाई समेत गरिएको थियो भने यो बर्षको उत्कृष्ट कर्मचारीको रुपमा सहलेखापाल सुरज ढुंगानालाई सम्मान गरिएको थियो ।
संस्था परिषरमा नै सम्पन्न साधारण सभा उपाध्यक्ष राजु गिरीको स्वागत मन्तब्य तथा सचिब दिलिपजङ्ग सुब्बाको सञ्चालनमा सम्पन्न भएको थियो ।