मेचीनगर, पुस २९ । वर्तमान अवस्थामा नेपाली बजारमा विभिन्न प्रकारका बेथिति देखा परेको र त्यसलाई हटाउन उपभोक्ताहरु नै सचेत हुनु पर्ने जागरण उपभोक्ता अभियान नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले बताउनु भयो । मेचीनगर नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित उपभोक्ता अधिकार र बजार ब्यवस्थापन सम्बन्धी एक दिने कार्यशालाको सहजीकरण गर्दै सबैभन्दा पहिला उपभोक्ताहरु सचेत हुनुपर्नेमा जोड दिनु भयो ।
मेचीनगर नगरप्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मार्सेलीले नेपालमा उपभोक्ताको अधिकार र विद्यमान अवस्थाको चर्चा गर्दै उपभोक्ताहरुको हक, हित अधिकारका क्षेत्रमा सक्रिय संघ संस्थाले बजारको बेथिति हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनु भयो ।
नेपालको संविधान २०७२ को धारा ४४ मा उपभोक्ता हकको व्यवस्था रहेको र संविधानमा गुणस्तरीय वस्तु र सेवाको उपभोग गर्न पाउनु उपभोक्ताको हक हुने र गुणस्तरहीन वस्तुको उपभोगबाट हानी नोक्सानी भएमा उपभोक्ताले क्षतिपूर्ति पाउने हक सुनिश्चित गरिएको अध्यक्ष मार्सेलीले सहभागीलाई जानकारी गराउनु भयो ।
‘अहिले बजार स्वच्छ र उपभोक्तामैत्री छैन,’ मार्सेलीले भन्नुभयो, ‘उपभोक्ताले बस्तुको मूल्य, गुणस्तर र तौलमा मात्र नभएर सेवाका हरेक क्षेत्रमा ठगिनु परेको छ ।’
मेचीनगर नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा जागरण अभियानले उपभोक्ताका हक, अधिकारको संरक्षणका लागि सरोकारवालाहरुलाई दबाब दिने बताइएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख विमल आचार्यले उपभोक्ताहरु हरेक क्षेत्रमा सचेत हुनुपर्ने बताउनु भयो । आचार्यले खाद्य वस्तुको उत्पादन मिति, उपभोग्य मिति, व्याच नम्बर लगायतका सवै कुरा हेर्नुपर्नेमा जोड दिनु भयो ।
नगरकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बजार अनुगमनलाई तीव्र पार्नुपर्ने बताउँदै जागरण अभियानसँग मिलेर काम गर्न नगरपालिका इच्छुक रहेको बताउनु भयो ।
जागरण अभियान नेपाल झापाका जिल्ला तदर्थ समितिका अध्यक्ष मोहन काजीले उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले समिति गठन भएको बताउनु भयो । वहाँले संविधानप्रदत्त उपभोक्ता अधिकारको कार्यान्वयनका लागि समितिले इमान्दारिताका साथ नागरिक सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, मेची उद्योग वाणिज्य संघ, रोटरी क्लव, उद्योगी, व्यवसायीका प्रमुख तथा प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।