झापा, पुस २९ । नेकपा माओवादी केन्द्र मेचीनगरले कसैसंग पनि चन्दा चिठा नउठाउने निर्णय गरेको छ । माओवादी केन्द्र मेचीनगरको बुधबार सम्पन्न बैठकले माआवादी केन्द्रका नामबाट कसैले पनि चन्दा चिठ्ठा उठाउन नपाउने निर्णय गरेको माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरियाले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।
‘अब माओवादी केन्द्र मेचीनगरले कसैसंग पनि चन्दा चिठ्ठा उठाउँदैन,’ अध्यक्ष चिमरियाले भन्नुभयो, ‘पार्टीका कार्यक्रम र पार्टी सञ्चालन गर्न जे जति खर्च लाग्छ त्यो सबै पार्टी सदस्यहरुले आन्तरिक रुपमा ब्यवस्थापन गर्छौ ।’
चन्दाका नाममा रकम उठाउने भनेर माओवादी बिगतमा बदनाम भएका कारण पनि नगर कमिटिले यस्तो निर्णय गरेको अध्यक्ष चिमरियाले बताउनु भयो । ‘आम जनताले मनमा राखेको पार्टीलाई चन्दा चिठ्ठाले बदनाम गरायो,’ वहाँले भन्नुभयो, ‘अब माओवादीका नाममा कुनै पनि खालको चन्दा चिठ्ठा बापत कसैसंग एक रुपैया पनि उठाउन पाइदैन ।’
‘चन्दा उठाउने ब्यक्ति माओवादी हुँदैन,’ अध्यक्ष चिमरियाले भन्नुभयो, ‘माओवादीको कुनै कार्यकर्ताले पार्टीका लागि भन्दै चन्दा उठाएको जानकारी भए तत्काल पार्टीबाट निस्कासन गरिनेछ ।’
यदि कहीं कसैले माओवादी पार्टीका नाममा कनै पनि प्रकारको रकम संकलन गरिरहेको थाहा पाउने जो कोहीले जानकारी गराइदिन पनि अध्यक्ष चिमरियाले मेचीनगरबासीसंग आव्हान गर्नु भयो ।