झापा, पुस २९ । नेकपा माओवादी केन्द्र मेचीनगरले सुत्केरी आमाहरुलाई पौष्टिक खाद्यान्न उपलब्ध गराउने भएको छ । माओवादी केन्द्र मेचीनगरले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै नगर अध्यक्ष राजन चिमरियाले मेचीनगरको वडा नं. ७ र वडा नं. १४ का सुत्केरीहरुलाई तत्कालै पौष्टिक खाद्यान्न उपलब्ध गराउने बताउनु भयो ।
‘पार्टीका तर्फबाट सुत्केरीहरुलाई पौष्टिक खाद्यान्न पुर्याउने कार्यक्रम सुरुवात गरेका छौं,’ अध्यक्ष चिमरियाले भन्नुभयो, ‘सुरुवातका लागि हामीले मेचीनगर ७ र १४ नम्बर वडालाई छनौट गरेका हौं ।’
एक जना सुत्केरीलाई एक प्याकेट ल्याक्टोजिन, एक केजी ध्यु, आधा केजीको हर्लिक्स र २५० ग्राम मिठाई उपलब्ध गराउने अध्यक्ष चिमरियाले बताउनु भयो । वहाँका अनुसार एक सय रुपैया दिएर नवजात शिशुको मुख हेर्ने कार्यक्रम समेत पार्टीले बनाएको छ ।
सुत्केरीलाई पौष्टिक खाद्यान्न बितरण र नवजात शिशुको मुख हेर्ने कार्यक्रम माघ १ गतेदेखि सुरु गर्ने समेत अध्यक्ष चिमरियाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । पौष्टिक खाद्यान्न र मुख हेर्ने पैसा गरेर एउटा परिवारमा करीब २ हजार ४ सय रुपैया खर्च हुने र यो सबै रकम पार्टी सदस्यहरुले आन्तरिक रुपमा ब्यवस्थापन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । माओवादी केन्द्र मेचीनगरका अनुसार यो कार्यक्रम क्रमिक रुपमा नगरका अन्य वडाहरुमा समेत बिस्तार गर्दै लैजाने योजना रहेको छ ।
माओवादी केन्द्र मेचीनगरले गरीब तथा बिपन्न परिवारका ५५ घर परिवारलाई यस अघि नै सरकारी स्वास्थ्य बिमा कार्यक्रममा समावेश गराएको र आगामी बैशाख भित्रमा थप ६० परिवारलाई स्वास्थ्य बिमा गराईदिने अध्यक्ष चिमरियाले बताउनु भयो । ‘हामी साँचो अर्थमा समाजबादको अभ्यास गर्नेछौं,’ अध्यक्ष चिमरियाले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘जुनसुकै राजनितिक दलमा आस्था राख्ने नागरिक भए पनि अप्ठ्यारो पर्दा अब माओवादी केन्द्रले सहयोग गर्छ ।’
पत्रकार सम्मेलनमा माओवादी केन्द्र मेचीनगरका सचिव ज्ञानेन्द्र घिमिरेले पार्टीको संगठन बलियो बन्दै गएको र नगरका सबै वडामा कमिटि गठन भइसको बताउनु भयो । घिमिरेका अनुसार माओवादी मेचीनगरले टोल कमिटि गठनलाई तिब्रता दिएको छ ।
कार्यक्रममा बोल्दै नगर सहसचिव कृष्ण कौसलले कोरोना महामारीको तेस्रो लहर सूरु हुँदै गर्दा पार्टीको तर्फबाट त्यसको नियन्त्रण र सचेतनाका लागि नगरपालिकालाई गभ्भिर हुन आग्रह गरेको बताउनु भयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता विकास थापा मागर, नगर कमिटि सदस्य होम प्रकाश आचार्य, अनेरास्वबियु क्रान्तिकारीका जिल्ला सह सचिव अभिजित दवाडी र माओवादी केन्द्र मेचीनगरका नेता धर्मराज राजबंशीको समेत पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो ।