मेचीनगर, पुष २७ । झापाको मेचीनगरस्थीत धुलाबारी माद्यमिक विद्यालयलाई क्रिञ्जल फाउण्डेशनले ३ लाख १६ हजार ५०० रुपैंया उपलब्ध गराएको छ । विद्यालयमा आज आयोजित कार्यक्रमका बिच फाउण्डेशनका फोकल पर्सन हरि दाहाल र कार्यक्रम संयोजक आशिष लामिछानेले उक्त रकम धुलाबारी माविको खातामा जम्मा गरेको बैंक भौचर बिद्यालयका प्रधानअध्यपक महेन्द्र विलास लुईटेल र ब्यवस्थापन समिति अध्यक्ष गणेश बिक्रम नेम्वाङ्गलाई हस्तान्तरण गर्नु भएको थियो ।
धुलाबारी माविमा अध्ययनरत गरीब परिवारका ३९ जना बिद्यार्थीलाई छात्रबृत्तिका रुपमा उक्त रकम विद्यालयलाई उपलब्ध गराइएको फाउण्डेशनका फोकल पर्सन दाहालले बताउनु भयो । दाहालका अनुसार कक्षा १ देखि कक्षा ११ सम्मका विद्यार्थीका लागि फाउण्डेशनले छात्रबृत्ति बितरण गरेको हो ।
कक्षा १ देखि ५ सम्मका लागि ५ हजार ८००, कक्षा ६ देखि ९ सम्मका लागि ८ हजार ४५० र कक्षा १० देखि ११ सम्मका बिद्यार्थीलाई ११ हजार ६०० रुपैंया बार्षिक रुपमा फाउण्डेशनले उपलब्ध गराउने कार्यक्रम संयोजक लामिछानेले बताउनु भयो । लामिछानेका अुनसार पहिलो बर्ष जुन बिद्यार्थीले छात्रबृत्ति पाएको छ अर्को बर्षसमेत त्यही बिद्यार्थीले पाउने गरी छात्रबृत्तिलाई निरन्तरता दिइनेछ । आर्थिक अभावकै कारण बिद्यालयमा आउन बञ्जीत हुने अवस्था नआओस भन्नका लागि फाउण्डेशनले गरीब परिवारका विद्यार्थीहरुका लागि ‘शिक्षा दिक्षा’ कार्यक्रम अन्तर्गत छात्रबृत्ति कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक लामिछानेले बताउनु भयो ।
धुलाबारी माविका प्रधानअध्यापक महेन्द्र विलाश लुईटेलको सभापत्विमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेचीनगर शिक्षा अधिकारी होमनाथ भण्डारी, मेचीनगर १० का वडाअध्यक्ष सुवेशकुमार पनेरु, फाउण्डेशनका फोकल पर्सन दाहाल, कार्यक्रम संयोजक लामिछाने लगायतले छात्रबृतिले लक्षीत बिद्यार्थीहरुलाई पठनपाठनमा लगनशील भएर लाग्न प्रेरित गर्ने बताउनु भएको थियो ।
धुलाबारी माविका सहायक प्रधानअध्यापक तेजप्रसाद चौंलागाईले सञ्चालन गरेको कार्यक्रममा छात्रबृत्ति पाउने बिद्यार्थी, अभिभावक र विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।