बिर्तामोड, पुष २६ । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभाका उम्मेद्वार बन्नु भएका झापा बिर्तामोडका गोपालकुमार बस्नेतले प्रजातान्त्रिक आन्दोलनको सम्मानका लागि भए पनि आफुलाई मत दिन आग्रह गर्नु भएको छ ।
प्रजातान्त्रिक आन्दोलनको अगुवाई गरेको पार्टी नेपाली काँग्रेसले उम्मेद्वार बनाएको र आफु स्वयम पनि जीवनको लामो समय मुलुकमा प्रजातन्त्र प्राप्तीको लागि आन्दोलनमा होमिएका कारण पनि आफुलाई मतदान गर्न सम्पूर्ण मतदाताहरुलाई बस्नेतले आग्रह गर्नु भएको छ ।
‘म काँग्रेसको निष्ठावान कार्यकर्ता हुँ,’ बस्नेतले भन्नुभयो, ‘देशमा प्रजातन्त्र ल्याउन मेरो जीवनको उर्जाशिल उमेर खर्च गरेको छु, त्यसैको सम्मानका लागि पनि मलाई मत दिन सबैलाई आग्रह गर्दछु ।’
बि.स २००२ असोज ९ गते इलामको साँखेजुङमा जन्मनु भइ हाल झापाको बिर्तामोडमा बस्दै आउनु भएका ७६ बर्षीय काँग्रेस नेता बस्नेत २०२७ सालमा सिके प्रसाई (भरत बाबु) को संगतले नेपाली काँग्रेसमा सक्रिय हुनु भएको थियो ।
‘प्रतिबन्धित समय २०२७/२८ साल तिर मेरो काम काँग्रेसको चिठि पत्र जिल्ला भरि पुर्याउनु पर्ने थियो,’ बस्नेतले भन्नुभयो, ‘नयाँ मान्छे भएकाले प्रहरीले मलाई खासै चासो नराख्ने भएर होला भरत बाबुले चिठिपत्र पुर्याउने काम मलाई दिनु भएको थियो ।’
बस्नेत २०४१ सालमा काँग्रेसको संगठन गदैगर्दा नै चन्द्रगढीमा नजबन्दमा पर्नु भयो । काँग्रेसका अग्रज नेताहरु डिल्ली सिटौला, डा शंकर उप्रेती, रत्नकुमार कार्की, गणेश बिमलीसहित बस्नेतलाई तत्कालिन पञ्चायती ब्यवस्थाले नजबन्दमा राखेको थियो ।
२०४६ सालको जनआन्दोलनमा होमिएको बेला सिमित मानिस मात्रै देखिएका काँग्रेस हुने बस्नेत स्मरण गर्नु हुन्छ । २०४६ साल फागुन ७ गते झापाको बिर्तामोडमा विशाल प्रदर्शन गर्न सफल हुँदा निक्कै आनन्द लागेको बस्नेत स्मरण गर्नुहुन्छ ।
‘पञ्चायतको त्यत्रो दबदबा हुँदा पनि बिर्तामोडमा विशाल जनप्रदर्शन गर्न सक्यौं,’ बस्नेतले भन्नुभयो, ‘बिर्तामोडको प्रदर्शन पछि करीब दुई महिना भारत सिलिगुडीमा निवार्सन बस्नु पर्यो ।’ वहाँका अनुसार भारतमा बस्दा जनआन्दोलन समाचार नामक पत्रिका छापेर नेपाल पठाउने गर्नु हुन्थ्यो ।
२०४८ सालको काँग्रेसको ८ औं महाधिवेशनबाट काँग्रेसको झापा जिल्ला सचिवमा निर्वाचित हुनु भएका बस्नेतले सोही महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित हुनु भएका कृष्णप्रसाद सिटौलासंग मिलेर झापामा काँग्रेसको संगठनलाई गाउँ गाउँमा बिस्तार गर्नु भएको थियो ।
२०५१ सालमा तत्कालिन झापा निर्वाचन क्षेत्र नं. ३ ( हाल झापा १) मा प्रतिनिधि सभा सदस्यका लागि काँग्रेसका तर्फबाट बस्नेत उम्मेद्वार बन्नु भएको थियो ।
राजनिति शास्त्रमा स्नातकोत्तर सामाजिक अगुवा बस्नेत राजनिति बाहेक विभिन्न संघ संस्थामा रहेर समेत समाजसेवाको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । बिरता जेसीजको संस्थापक अध्यक्ष, तुर्सा हेमरम प्रतिष्ठानको अध्यक्ष, भेटघाट चौतारीको अध्यक्ष, नेपाली लेखक संघ झापाको अध्यक्ष र जय नेपाल प्रतिष्ठानको अध्यक्षका रुपमा बस्नेतले सेवामुलक काममा आफुलाई सक्रिय बनाउनु भएको छ ।
आर्थिक अभावले बिद्यालय गएर पढ्न नसक्ने अवस्थाका परिवारका वालवालिकाहरुलाई निशुल्क पढ्ने ब्यवस्था मिलाउनु भएका बस्नेतले उनीहरुका लागि झापाका विभिन्न निजी बिद्यालय मार्फत अध्ययन गर्ने अवसर प्रदान गर्नु भएको छ । बस्नेत मार्फत निशुल्क अध्ययन गरिरहेका बिद्यार्थीहरुको संख्या अहिले एक सय भन्दा बढी भएको वहाँले बताउनु भयो ।
‘राष्ट्रिय सभामा निर्वाचित भएर भष्ट्रचार बिरुद्ध अभियान चलाउँछु,’ बस्नेतले भन्नुभयो, ‘मन्त्री पद आयो भने नाही भन्दीन तर मलाई चाहियो भन्दै माग्न जान्न ।’
माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यका लागि काँग्रेसको तर्फबाट प्रदेश १ मा खुल्ला तर्फको उम्मेद्वारी दर्ता गराउनु भएका बस्नेत २०७४ सालमा तत्कालिन सरकारले राष्ट्रिय सभा सदस्यका रुपमा सिफारिस गरेको भए पनि राष्ट्रपति बिद्यादेवी भण्डारीले उक्त सिफारिस प्रमाणिकरण गर्नु भएको थिएन ।