झापा, पुष २२ । मेचीनगर नगरपालिकाको वडा नं. ७ मा बुधबार राति भएको आगलागीमा मेचीनगर नगरपालिकाका दमकल कर्मचारीको लापरबाहीका कारण ठुलो क्षती भएको स्थानीयहरुले बताएका छन ।
राति ९ः२० बजे स्थानीय केशब पाठकले भाडामा लगाएको घरमा आगलागी शुरु भएको गाउँलेहरुले थाहा पाए पछि तत्काल मेचीनगरको दमकललाई फोन गर्दा दमकल शाखाको फोन नै सम्पर्क नहुने गरी बनाएर राखेको स्थानीयहरुले बताएका छन । दमकलका कर्मचारीको मोबाइल नम्बरमा फोन गर्दा पनि नलागे पछि गाउँहरु राति नै नगरपालिकाको कार्यालय पुगेर दमकललाई खबर गरेको स्थानीय धनमाया बस्नेतले बताउनु भयो ।
नगरपालिकाको कार्यालयबाट करीब डेढ किलोमिटरको दुरीमा रहेको आगलागी भएको स्थान पुग्न दमकललाई झण्डै एक घण्टा लागेकाले पनि एक जना ब्यक्तिको ज्यान जाने गरी क्षति भएको घर धनी पाठकले गुनासो गर्नु भयो । ‘आगलागी भएको थाहा पाउने बित्तिकै दमकललाई सम्पर्क गर्न खोज्दा सम्पर्क भएन,’ पाठकले भन्नुभयो, ‘दमकल बोलाउन मान्छे नै जानु पर्यो तर पनि खबर गरेको झण्डै एक घण्टा पछि मात्रै दमकल आइपुग्यो ।’
बैलेमा दमकल आइपुगेको भए मानविय क्षति हुने थिएन र घर भित्रको सामान पनि केही सुरक्षीत गर्न सकिने घर धनी पाठकले बताउनु भयो ।
दमकल ढिलो आइपुगेको बिषयमा छानबिन गर्ने मेचीनगर उपप्रमुख मिना उप्रेतीले बताउनु भयो । ‘यति नजिकै दमकल आउन किन ढिलो भयो यो बिषय छानबिन गर्छौं,’ उपप्रमुख उप्रेतीले भन्नुभयो, ‘दमकल शाखामा फोन लागेन भन्ने गुनासो आयो तत्काल त्यस बारेमा समेत बुझेर सामाधान दिन्छौं ।’
घर भित्र कोही नभएको बेला राति आगलागी भएका कारण घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने सामग्री निकालेर सुरक्षीत बनाउन सहयोग गर्न गएका गाउँलेहरु सिलिण्डर पडकिएर शरद राजबंशीको मृत्यु भयो भने १६ जना घाइते भएका छन । घाइतेहरुको बिर्तामोडको बिर्तासिटि र बिएण्डसी अस्पतालमा र धुलाबारीको आम्दा मेची अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पाठकको घरसंगै जोडिएको धनमाया बस्नेतको घरको समेत माथिल्लो भाग र भान्साघर आगलागीले क्षति भएको छ । आगलागीबाट घरभित्रै राखेको एउटा मोटरसाइकल समेत पुर्ण रुपमा नष्ट भएको छ । बस्नेतको भान्सा घरमा रहेको फ्रिज पूर्ण रुपमा जलेको छ भने भाँडाकुडा समेत जलेका छन र घरको बिद्युतका तार समेत जलेर नष्ट भएको छ ।