धुलाबारी, पुष २१ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबका दिनमा काँग्रेसले कुनै गल्ती कमजोरी गर्यो भने आफुलाई र गगन थापालाई प्रश्न गर्न आव्हान गर्नु भएको छ ।
नेपाली काँग्रेसको झापा क्षेत्र नं. १ को क्षेत्रीय समितिको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भन्नुभयो, ‘अब काँग्रेसले कमजोरी गरेको भेट्नु भयो भने सभापतिलाई होईन मलाई र गगन थापालाई प्रश्न गर्नुहोस ।’ सभापति शेरबहादुर देउवाले काँग्रेसलाई बलियो बनाउने र रुपमान्तरित काँग्रेस बनाउने काममा आफुहरुलाई सहयोग गर्ने बचन दिइसकेको समेत महामन्त्री शर्माले बताउनु भयो ।
कार्यक्रममा बोल्दै शर्माले राष्ट्रबादलाई गलत तरिकाले ब्याख्या गरेको बताउँदै देशको समृद्धिका लागि बैदेशिक सहयोग आवश्यक रहेको बताउनु भयो । शर्माले एमसिसिको प्रसङ्गको चर्चा गर्दै भन्नुभयो, ‘नेपाल कुनै पनि देशको सैन्य रणनितिमा सहभागि हुँदैन तर एमसिसिको बारेमा गहन अध्ययन गर्न सबैलाई आग्रह गर्दछु ।’
शर्माले अरुण तेस्रो जलबिद्युत निर्माणको प्रसङ्ग निकाल्दै राष्ट्रबादलाई आफ्नो स्वार्थमा प्रयोग गर्न नहुने बताउनु भयो । वहाँले भन्नुभयो, ‘२०५१ सालमा भारत बाहेक अन्य मुलुकले नै अरुण तेस्रोमा लगानी गरेर निर्माण गर्दा राष्ट्रबादको नारा दिएर बिरोध गरेर निर्माण कार्य नै बन्द गराउने केपी ओलीले २५ बर्ष पछि त्यही अरुण तेस्रोमा भारतिय लगानी गराएर नदेन्द्र मोदीसंगै उदघाटन गर्दा राष्ट्रबाद कहाँ गयो ।’
महामन्त्री शर्माले अब काँग्रेसका वडा देखि केन्द्रसम्म विभिन्न पदमा भएका नेता कार्यकर्ताहरुलाई फरक फरक जिम्मेवारी पार्टीले दिएर काम लगाउने समेत बताउनु भयो ।
निवर्तमान क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले नवनिर्वाचित क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीलाई पद हस्तान्तरण गर्दै समितिको बैठक पुस्तीका र काँग्रेसको झण्डा हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य शुशिला ढकाल, जिल्ला सभापति देउकुमार थेबे, जिल्ला उपसभापति केशबराज पाण्डे, महाधिवेशन प्रतिनिधि तथा मेचीनगर प्रमुख बिमल आचार्य, पुर्व जिल्ला उपसभापति राम कट्टेल, मेचीनगर सभापति सुवेशकुमार पनेरु लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
पहिलो चरणमा मणी उप्रेती र दोस्रो चरणमा इन्द्र बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित क्षेत्रीय समिति र प्रदेश सभा क र ख का समितिका पदाधिकारी तथा सदस्यहरुलाई पदहस्तान्तरण गरिएको थियो ।
हरि बुढाथोकी, सुरेन्द्र बुढाथोकी, गुणराज भट्टराई र रमेश पोखरेलले आलोपालो गरेर सञ्चालन गरेको कार्यक्रम धुलाबारीस्थीत पासाङ्गल्हामू स्मृति जेसीज प्रतिष्ठानमा सम्पन्न भएको थियो ।