धुलाबारी, भदौ २८ ।
झापा मेचीनगर १० स्थीत धुलाबारी क्याम्पसका प्रमुखले अर्को क्याम्पसको प्रमुख प्रशासकको जिम्मेवारी सम्हाल्नु भएको खुल्न आएको छ ।
धुलाबारी क्याम्पसका प्रमुख पुष्पराज पौडेलले मेचीनगर पोलिटेक्नीक इन्स्टिच्युटको प्रमुख प्रशासकको जिम्मेवारी सम्हाल्नु भएको मेचीनगरको शिक्षा शाखाले जनाएको छ ।
धुलाबारी क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालिरहेकै बेला पौडेलले मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद (सिटिइभिटी)को साझेदारीमा सञ्चालन हुन लागेको इन्जिनियरिङ क्याम्पसको रुपमा रहेको मेचीनगर पोलिटेक्नीकको प्रमुख प्रशासकको जिम्मेवारी सम्हाल्नु भएको हो ।
तत्कालका लागि धुलाबारी क्याम्पसकै भवनमा सञ्चालन गर्न लागिएको पोलिटेक्नीक सञ्चालनका लागि नगरप्रमुखको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । सोही समितिको निर्णयबाट धुलाबारी क्याम्पसका प्रमुख पौडेललाई प्रमुख प्रशासक, त्यस्तै धुलाबारी क्याम्पसकै कोअर्डिनेटर रुद्र मैनालीलाई पोलिटेक्नीकको प्रिन्सिपल नियुक्त गरेको नगरपालिका स्रोतले बताएको छ ।
फेसबुक मार्फत बिद्यार्थी भर्ना आवहान गरिसकेको पोलिटेक्नीकका बिषयमा नगरपालिकाले अहिलेसम्म कुनै बिषय सार्वजनिक गरेको छैन तर आन्तरिक रुपमा धुलाबारी क्याम्पसमा बहाल रहेका प्रमुखलाई नै पोलिटेक्नीकको प्रमुख प्रशासक र कोअर्डिनेटरलाई इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपल नियुक्त गरेको छ ।
त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा स्नातक तहका मानविकि, ब्यवस्थापन र शिक्षा संकायका बिषयहरु अध्ययन हुने धुलाबारी क्याम्पसमा बिगत केही बर्ष देखि बिद्यार्थी भर्ना शुन्य छ । तर पनि क्याम्पस प्रशासनले भने बिद्यार्थी भर्नाका लागि कुनै प्रयास गरेको देखिदैंन ।
क्याम्पस प्रमुख र कोअर्डिनेटर नै अर्को क्याम्पसको जिम्मेवारी सम्हाल्न पुगे पछि भने अब धुलाबारी क्याम्पस प्रशासन नेतृत्व बिहिन बनेको छ ।