झापा, पुष २१ । राष्ट्रिय सभा निर्वाचनका लागि हिजो उम्मेद्वारी दर्ता भएको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन बलियो देखिएको छ ।
प्रदेश १ मा सत्ता गठबन्धनका दलहरु नेपाली काँग्रेसको मतभार २७३६, नेकपा माओबादी केन्द्रको मतभार १००८, नेकपा एकीकृत समाजबादीको मतभार ६६०, जनता समाजबादी पार्टीको मतभार २१६ र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चको मतभार ४८ छ । जस अनुसार साझा उम्मेद्वार उठाएका सत्ता गठबन्धनका दलहरुसंग कुल मतभार ४६६८ रहेको छ ।
त्यस्तै नेकपा एमालेसंग कुल मतभार ४५२४ रहेको छ भने राप्रपासंग १२० मतभार रहेको छ । यसरी हेर्दा एमालेको भन्दा सत्ता गठबन्धनसंग १४४ मतभार बढी देखिन्छ । एमाले र राप्रपा बिच सहमति भएको खण्डमा समेत सत्ता गठबन्धनभन्दा २४ मतभार कम नै हुन्छ ।
प्रदेश १ को ताजा अवस्थालाई हेर्ने हो भने दलहरुको मतभारमा केही फरक पर्न सक्नेछ । प्रदेश १ मा एमालेबाट निर्वाचित दुई जना स्थानीय तहका प्रतिनिधिहरुको मृत्यु भएको छ । एमालेबाट निर्वाचित संखुवासभाको खुम्बु पासाङल्हामू गाउँपालिकाका अध्यक्ष निङ दोर्जे शेर्पा र भोजपुरको हतुवागडी गाउँपालिकाका उपाध्यक्ष चन्द्रमा राईको मृत्यु भएकाले एमालेको मतभारबाट ३६ कम हुन्छ ।
त्यस्तै एमालेबाट निर्वाचित इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले सत्ता गठबन्धनका उम्मेद्वारलाई मत हाल्ने र माओबादीबाट निर्वाचित रंगेली नगरपालिकाका प्रमुख दिलिप बगेडियाले एमालेलाई मत हाल्ने आंकलन गरिएको छ । यो अवस्थामा पनि एमाले भन्दा सत्ता गठबन्धनकै मतभार बढी हुन्छ ।
प्रदेश १ मा सत्ता गठबन्धनका तर्फबाट खुला तर्फ काँग्रेसका गोपालकुमार बस्नेत(झापा), महिला तर्फ नेकपा एकिकृत समाजबादीकी जयन्ती राई (भोजपुर) र अपाङ्गता भएका÷अल्पसंख्यक तर्फ जनता समाजबादी पार्टीका हेमराज थुलुङले उम्मेद्वारी दर्ता गराएका छन ।
त्यस्तै नेकपा एमालेका तर्फबाट खुलामा गुरु बराल(मोरङ), महिलामा सुमित्रा भण्डारी (झापा), र अपाङ्गता भएका÷अल्पसंख्यक तर्फ सोनाम ग्याल्जेनले उम्मेद्वारी दर्ता गराएका छन । त्यसैगरी राप्रपाका तर्फबाट महिलामा झापाकी रञ्जु प्याकुरेल र खुलामा झापाकै अम्बरबहादुर बिष्टले समेत उम्मेद्वारी दर्ता गराएका छन ।