धुलाबारी, पुष २० । झापाको मेचीनगरमा नयाँ सिमसार क्षेत्र थपिएको छ । मेचीनगरको वडा नंं ९ स्थीत मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ को २६ औं वार्षिक साधारण सभाको अवसर पारेर सिमसार क्षेत्रको उद्घाटन समेत गरिएको छ ।
उद्घाटनसँगै वन समूहको सिमसार क्षेत्र पर्यटकका लागि खुला भएको छ । साधारण सभा तथा पर्यटकीय सिमसार क्षेत्रको उद्घाटन गर्दै मेचीनगर प्रमुख विमल आचार्यले सिमसार क्षेत्रलाई पर्यटकको आकर्षणको केन्द्र बनाउनु पर्ने बताउनु भयो । नगरप्रमुख आचार्यले सिमसारले पर्यटनसंगै पर्यावरणलाई समेत सकरात्मक प्रभाव पार्ने बताउनु भयो ।
वन समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूले साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्ताको हितमा ल्याइएका कार्यक्रमहरु सम्पन्न गरिएको उल्लेख छ । यस्तै, वन समूह परिसरमा रहेको मागुरमाडी पर्यापर्यटन सिमसार क्षेत्रलाई सञ्चालनमा ल्याउन सकिएको उल्लेख छ ।
समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न साधारण सभामा मेचीनगर प्रमुख विमल आचार्यले मेचीनगर क्षेत्रभित्र रहेका वनहरुको गतिविधिलाई समेटेर नगरपालिकाले पुस्तक सार्वजनिक गर्न लागेको जानकारी दिनु भयो ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, मेची सव डिभिजन कार्यालय प्रमुख राजन राई, मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्का, वडा सदस्य इन्द्र प्रधान, खुट्टीडाँगी सामुदायिक वनका अध्यक्ष टंकबहादुर नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वन समूहका उपाध्यक्ष जोखेन मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कमला गौतमले गर्नु भएको थियो । वार्षिक साधारण सभाको अवसरमा उपभोक्तालाई सिमसार क्षेत्रमा पिकनिक समेत खुवाइएको थियो ।