रेडियो मेलम्ची /रेडियो सिन्धु, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर पुरिएको छ । भीरखर्कमा कम्तिमा १० घर पुरिएको खबर छ ।
स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाइ छ ।
त्यस्तै जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा केही घरहरू पुरिएको छ । मानवीय क्षती नभएको बताइएको छ ।
घटना राति भएकाले उद्दारको काम हुन सकेको छैन । बिहान खबर पाएपछि बाह्रबिसे ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवराज न्यौपानेको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ ।
बीच बीचमा बाटो अवरोधका कारण समयमै पुग्न कठिन भएको प्रहरी निरिक्षक न्यौपानेले बताउनुभयो ।
घटना थाहा हुने बित्तिकै प्रहरी घटनास्थल तर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।
कम्तिमा २० देखि २५ जनाको ज्यान पहिरोमा पुरिएको हुन सक्ने आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो ।
‘ठूलै मानवीय क्षति भएको हुन सक्ने खबर सुनेर घटना स्थलतर्फ जाँदै छु’, मेयर शेर्पाले भन्नुभयो । ७ नम्बर वडाका अध्यक्ष मिनबहादुर श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठको घर समेत त्यहाँ पर्दछ ।
पहिरोमा आफ्नो घर समेत परेको उहाँले जानकारी दिनुभयो । बेलुका आफू घुम्थाङमा बसेकाले के कति क्षति भएको कुरा यकिन नभएको उहाँले जानकारी दिनुभयो ।
‘त्यहाँ १० घर थियो, अब एउटा मात्रै बाँकी छ भनेको सुनेको छु,’₋ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।