नेपाली काँग्रेसले आफ्नो १४ औ महाधिवेशन सम्पन्न गरेको छ । वडा तहदेखि नै लोकतान्त्रिक विधि र पद्धतिको भरपुर उपयोग गरेर केन्द्रिय तहसम्मको अभ्यासले काँग्रेसको जरा राम्रै सिचिंत गरेको छ भन्ने देख्नेहरुलाई लागिरहेको छ ।
१४ औं महाधिवेशनले तपाई विश्वप्रकाश शर्मालाई केन्द्रिय महामन्त्री जस्तो काँग्रेस भित्रको शक्तिशाली पदमा पुर्याएको छ । महामन्त्रीमा तपाइ विजय हुने बाटो त्यति सजिलो पक्कै थिएन । जुन कुरा काँग्रेसलाई मात्रै होईन काँग्रेस नभएका र दलिय राजनितिमा कमै चासो राख्ने आम मानिसलाई पनि धेरथोर जानकारी भएकै बिषय हो । काँग्रेसको वडा तहदेखि केन्द्रिय तहसम्मको अधिवेशनहरुलाई नजिकबाट नियाल्ने मौका पाएकाले पनि आज तपाई विश्वप्रकाश शर्मालाई यो खुला पत्र लेख्दैछु ।
खास गरी काँग्रेसको आन्तरिक प्रतिस्पर्धा र १४ औं महाधिवेशनको सन्धर्भलाई हेर्ने हो भने तपाइ चर्चाको केन्द्रिय पात्र हुनु भएको मैले महशुस गरेको थिएं । देशभरिका काँग्रेस कार्यकर्ताले तपाइबाट केही आशा गरेकै हुनाले महाधिवेशन मुलत महामन्त्री पदको वरिपरी त्यसमा पनि खास गरी तपाइको उम्मेद्वारीको आसपासमा नै घुमेको देखिन्थ्यो ।
महाधिवेशनका प्रतिनिधिहरुले सबै खाले व्यवधानलाई पन्छाएर तपाइका लागि असहज देखिएको महामन्त्रीमा सजह विजय गराइदिएर आफ्नो कर्तब्य पुरा गरेका छन । यदि महाधिवेशन प्रतिनिधिले उपल्ला नेताको पछि लागेर गुटगत राजनितिमा विश्वास गरेका हुन्थे भने आज तपाइ काँग्रेसको केन्द्रिय महामन्त्रीका रुपमा हुनुहुन्नथ्यो । त्यसैले तपाइको विजय केवल निर्वाचनमा पद प्राप्ती मात्रै होईन । यो त तल्ला कार्यकर्ताहरुले दिएको एउटा सन्देस हो । काँग्रेस भित्रको बेथिति बिरुद्ध एउटा बिद्रोह हो र काँग्रेस बनाउने एउटा संकल्प पनि हो ।
अब तपाइ हिजोको विश्वप्रकाश भन्दा फरक भुमिकाको विश्वप्रकाशका रुपमा हुनुहुन्छ । तपाइ हिजो पार्टीको आन्तरिक गुटगत राजनितिको एउटा झटारो हुनुहुन्थ्यो भने अब तपाई त्यो झटारो समाउने ठाउँमा पुग्नु भएको छ ।
जसरी हिजोका दिनमा काँग्रेस भित्र खास गरी तपाइका बिरुद्ध पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला ठुलो पर्खाल झैं भएर उभिनु हुन्थ्यो के अब तपाइ आफ्ना पछिल्ला कार्यकर्ताका लागि त्यही पर्खाल बन्ने हो त ? यदि त्यसो हो भने आजको तपाइ र हिजोको सिटौलामा कुनै फरक हुने छैन । हिजो तपाइका लागि सिटौलाले जहाँ जहाँ तगारो हाल्न खोज्नु भयो आज तपाइले पछिल्लो पुस्ताका लागि त्यहीं त्यहीं हातेमालो गरेर अगाडी बढ्न र बढाउन सक्नु भएन भने आजको महामन्त्री शर्मा र हिजोको महामन्त्री सिटौलाबिच काँग्रेसीहरुले कुनै फरक पाउने छैनन ।
हिजोदेखि तपाईले पस्कनु भएको संस्कारयुक्त राजनिति अब तपाइको देखिने गरी व्यवहारमा प्रस्तुत हुन सकेन भने सारा गुट भत्काएर तपाइलाई विजयी बनाउने महाधिवेशन प्रतिनिधिहरु कुना पसेर रुनेछन, चिच्याउनेछन र भन्ने छन धिक्कार छ काँग्रेस भएकोमा ।
काँग्रेसका गाउँ गाउँका कार्यकर्ता उत्साहित गर्न, उनीहरुलाई क्षमता अनुसारको स्थान दिन अब तपाइले कुनै कन्जुस्याइ गर्नु हुनेछैन । हिजो सिटौलाहरुले जसरी तपाइलाई छेके, रोके र पर्खाल खडा गरे त्यसको ठिक बिपरित अब तपाइले केशबराज पाण्डे, गोपाल तामाङ, सजेश सिवाकोटी, विनोद बस्नेतहरु जस्ता देशभरिका क्षमतावान कार्यकर्ताहरुलाई अगाडी बढाउन थप हौसला, साथ र अवसर निर्माण गरिदिनु पर्छ ।
जसरी हिजो तपाइका साथमा रहेकाहरुले पार्टी भित्र र पार्टी बाहिर तपाइको नाम जोडेर सिटौलाहरुबाट प्रताडित हुनु पर्यो अब सिटौलाहरुका साथमा रहेका कार्यकर्ताहरुले तपाइ र तपाइका साथमा रहेकाहरुबाट प्रताडित हुनु नपरोस । यदि त्यसो हुन सकेन भने युवा पुस्ताको नेतृत्व गर्ने तपाइबाट नेपालीहरुको विश्वास र भरोसा टुट्नेछ ।
महामन्त्री पदमा आशिन भए पछि तपाइले उठाएका मुद्दा ओझेल परे वा पारिए भने, तपाइमा पनि गुट बनाउने वा गुटको पछि लाग्ने र आफु इतरकालाई तगारो हाल्ने दुश्कर्म भएछन भने आज जसरी तपाइलाई माथिल्लो आशनमा राखेका छन तिनै कार्यकर्ताले भोलि त्यहाँबाट मैदानमा उतार्नेछन । त्यतिमात्र होइन हिजो राजनितिक परिवर्तन अब राजनितिमा परिवर्तन भन्ने तपाइको दस्तावेजलाई तपाइको जितसंगै महाधिवेशनले अनुमोदन गरेकोछ त्यस अनुरुप तपाइका कर्म अगाडी बढेनन भने तपाइ र तपाइका विचार फगत ‘खान नपाएर छटपट्टिएको स्याल झैं’ मात्रै हुनेछन र सारा नेपाली जनता युवा पूस्ताको अनुहारदेखि नै घृणा गर्न थाल्नेछन । त्यसैले हिजो तपाइ बिरुद्ध भए गरेका ब्यवहार अब तपाइले जो कसै बिरुद्ध दोहोर्याउन पाउने छुट तपाइलाई छैन ।
काँग्रेस भित्रको घिनलाग्दो गुट र दाउपेच बिरुद्ध उभ्भिन सक्नु भएन भने आज तपाइ अघि लाग्दा जुन संख्यामा पछि लाग्नेहरुको घुइंचो छ भोलि तपाइले पछि फर्केर हेर्दा आफुलाई एक्लै पाउनु हुनेछ । आगे तपाइ आफैं जानकार हुनुहुन्छ ।