काकरभिट्टा, पुष १६ । चराको खोज र अनुसन्धानमा लाग्नु भएका देवेन्द्र खरेलले संरक्षीत क्षेत्र बाहेक नेपालमा सबैभन्दा धेरै चरा पाइने स्थान झापाको मेचीनगर नगरपालिका क्षेत्र नै रहेको दाबी गर्नु भएको छ । वहाँले भन्नुभयो, ‘नेपालको संरक्षीत क्षेत्र बाहेक सबैभन्दा धेरै चरा मेचीनगरमा पाइन्छ ।’
नेपालमा पाइने ८८७ प्रजातिका चरा मध्ये मेचीनगरमा मात्रै करीब ३०० प्रजातिका चरा पाइने खरेलले बताउनु भयो । ‘मैले ३०० प्रजातिका चराको फोटो मेचीनगरमा खिचिसकेको छु,’ बिहिबार पत्रकारहरुसंग कुराकानी गर्दै खरेलले भन्नुभयो, ‘अहिलेसम्म करीब ४०० प्रजातिका चराको फोटो मैले खिचिसकेको छु ।’
मेचीनगर क्षेत्रलाई चरा मार्न निषेधित क्षेत्रका रुपमा घोषणा गरेर चरा संरक्षण गर्नु पर्ने चराविद् खरेलले माग गर्नु भयो । झापा मेचीनगर ६ काकरभिट्टा निवासी खरेलले चरालाई पर्यटनसंग जोड्नु पर्ने समेत बताउनु भयो । ‘चराको फोटोग्राफि गर्न आउनेहरुले सबैभन्दा धेरै खर्च गर्छन,’ खरेलले भन्नुभयो, ‘चरालाई विदेशी पैसा भित्र्याउने प्रमुख स्रोतको रुपमा विकास गर्न सकिन्छ ।’
चराको खोज र अनुसन्धानमा स्थानीय सरकारले बिषेश चासो दिनु पर्ने बताउने खरेलले विगत ५ बर्षमा चराको खोजी र फोटोग्राफी गर्न मात्रै करीब ७ लाख निजि खर्च गरिसकेको बताउनु भयो ।
१९२ बर्ष पछि खरेलले भेटे दुर्लभ चरा ‘हङरायो’
नेपालमा लोप भएको भनिएको ‘हङरायो’ चरा खरेलले फेला पार्नु भएको छ । दुर्लभ मानिएको रुफोस नेक्ट हर्नविल [Rofous Necked Hornbill] नेपाली नाम ‘हङरायो’ चरालाई इलामको सुर्योदय नगरपालिका वडा नं. १ स्थीत सिमधाममा खरेलले पुष ६ गते भेटेर फोटो समेत खिच्नु भएको छ ।
‘चरा हेर्दै हिडिरहेको थिएं एक्कासी आकाशमा अनौठो प्रकारको आवाजका साथ एक जोडी ठुलो चरा उठेको देखें,’ खरेलले भन्नुभयो, ‘हत्तपत्त मोटरसाईकल रोकेर फटाफट फोटो खिच्न थालें, पछि हेर्दा त नेपालबाट लोप भयो भनिएको ‘हङरायो’ चरा पो रैछ ।’
पुर्व नेपालमा प्रचलित ‘हाङ्ग्रोले पाँङ्ग्रो खाए जस्तो’ भन्ने उखान पनि यही चराकै कारण आएकोले पनि पुर्वी नेपालमा ‘हङरायो’ चरा भेटिन्छ भनेर चराविद कमल मादेनले त्यसको खोजी गर्न पटक पटक आग्रह गर्नु भएको खरेल बताउनु हुन्छ । ‘मादेन सरले मलाई इलाम तिर ‘हङरायो’ चरा भेटिन सक्छ यसो खोजी गर्नु है भनिरहनु हुन्थ्यो, खरेलले भन्नुभयो, ‘साँच्चै मैले नै ‘हङरायो’ चरालाई भेटें ।’
विदेशी चरा विज्ञ ब्राइन हट्सनले सन १८२९ मा ‘हङरायो’ चरा नेपालमा भेटेको भनेर उल्लेख गरे पनि त्यस पछि कसैले पनि नेपालमा उक्त चरा देखेका थिएनन । विदेशी विज्ञले उल्लेख गरे पनि अहिलेसम्म नभेटिएको ‘हङरायो’ चरा नेपालमा भेटिन्छ भनेर चराविद खरेलले नै १९१ बर्ष पछि अस्तित्व पुष्टी गर्नु भएको हो ।